इटहरी/ नेपालमा बन्यजन्तु संरक्षणको गतिलो प्रयास नहुदा पूर्वी नाकाबाट दुर्लभ बन्यजन्तुहरुको तस्करी हुन थालेको छ । बन्यजन्तुको सिकार गरी अवैध रूपमा चोरी निकासी गर्ने क्रम रोकिएको छैन । चोरी सिकारी रोक्न बनाइएका ऐन कानुन कार्यान्वयन गर्ने निकाय चुस्त नहुदा तस्करहरु बन्यजन्तु तस्करीमा लागी परेका छन । इटहरीलाई मुख्य केन्द्र बनाई तस्करहरुले विभिन्न मुलुकमा तस्करी गर्ने गरेको प्रहरीको अनुमान छ ।

सोमबार अवैध चितुवाको छाला सहित दुई जनालाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ । इटहरीको झरना होटलमा लुकाई छिपाई ल्याइएको चितुवाको छालाको विक्री वितरण हुन लागेको अवस्थामा प्रहरीले इटहरी २ का श्याम बहादुर गुरुङ र इटहरी ६ मा कोठाभाडामा बस्दै आएका विनोद देवानलाई पक्राउ गरेको हो । अवैध चितुवाको छालाको विक्री वितरण हुँदै छ भन्ने गोप्य सुचनाको आधारमा होटलमा छापा मारी उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालयका डिएसपी सञ्जय राउतले जानकारी दिए ।

पक्राउ परेका दुई जनाबाट प्रहरीले ३ लाख ५० हजार नगद, ३ थान मोबाईल सहित गाडि र मोटरसाईकलको चावी बरामत गरेको इटहरी प्रहरीले जानकारी दिएको छ । चितुवाको छाला कहाँबाट ल्याए र को मान्छेलाई विक्री गर्न लागेका थिए भन्ने बारे स्पष्ट भईनसकेको इटहरीका डिएसपी राउतले जानकारी दिए । उनीहरुले उक्त छाला महंगो मुल्यमा दोस्रो देश पठाउनको लागी तस्करी गरेको हुन सक्ने वताएका छन । छालाको मुल्य ३० लाख भन्दा बढि पर्ने पक्राउ परेकाहरुको भनाई छ ।

चितुवाको छाला विर्तामोडबाट केही व्यक्तिले इटहरी सम्म पुर्याईदिन भनेको र होटलमा पुयाईदिएको पक्राउ परेका देवानले वताएका छन् । छाला भएको झोला भारतीय व्यक्ति लिन आउँछ त्यहाँ सम्म पुराईदिनु भनेका थिए मैले ल्याउँने काम मात्र गरेको हौ देवानले भने । पक्राउ परेका व्यक्ति र बरामद गरिएको छाला जिल्ला बन कार्यालयलाई बुझाई थप कारबाही अघि बढाईने इलाका प्रहरी कार्यलय इटहरीको भनाई छ ।

नेपाल ट्रान्जिट पईन्ट हुदै अवैध रूपमा चीनको तिब्बततर्फ वन्यजन्तुका छाला, हाडलगायत जडीबुटी तस्करी हुने गरेको देखिन्छ कोशी टप्पु बन्यजन्तु आरक्षका प्रमुख श्यामकुमार शाहले भने । उत्तरको नाकाबाट दुर्लभ बन्यजन्तुहरुको छाला विक्रि भईरहेको हाम्रो अनुमान छ शाहले थपे । नेपालमा डाँफे, कस्तूरी मृग, चरिबाघ, कालो भालु, सालक, नाउर, झारल, थार, रातो बाँदर, चितुवा, दुम्सीजस्ता वन्यजन्तु दुर्लभ र संरक्षित सूचीमा छन्।

मृग, हरिण, सालक, दुम्सी, खरायो, कालिजजस्ता जन्तुको संख्या घटेको सामुदायिक वन उपभोक्ता महासंघ सुनसरीले जनाएको छ । बन्यजन्तुहरुलाई आहारा समेत कमि हुदै गएकोले बन्यजन्तुहरु आफै पनि आहारा खोज्दै हिड्न क्रममा तस्करीहरुको जालोमा पर्ने गरेको कारण चोरी तस्करी बढिरहेको वताए । जंगलमा पानी अभाव लगायतका समस्या बन्यजन्तुहरुलाई बढ्दै गए पछि पानीका खोजीमा निस्कदा चोरी तस्करी सहज भएको अध्यक्ष गौतमको तर्क छ ।

२०७२ सालमा प्रहरीले इटहरीबाट दुर्लभ ६ वटा हुचिलको चल्ला र त्यसको आहाराका रुपमा राखिएको स्यालको फिला सहित दुई जनालाई पक्राउ गरेको थियो । २०७२ पुस १२ गते इटहरी प्रहरीले विश्वकै दुर्लभ पाटे बाघको छाला र नगद ८० हजार रुपैया सहित भारत राजस्थान जोतपुर का १९ बर्षिय राजु बागडी र ३५ बर्षिय रामदेव बागडीलाई समेत पक्राउ गरेको थियो । इटहरीलाई टान्जिट पाेईन्टको रुपमा अबैध कारोबार भईरहेको भन्दै सिआईवीले पूर्वको इटहरीमा सक्रियता समेत बढाउँदै आएको छ ।