विराटनगर/ नेकपा माओवादी केन्द्रले फागुन १ गतेलाई २३ औं जनयुद्ध दिवसको रुपमा मनाएको छ ।

माओवादीको विराटनगर माहानगरपालिका समितिद्वारा आयोजित अन्तरक्रिया तथा चियापान कार्यक्रममा बोल्दै नेताहरूले जनयुद्धको औचित्य नसकिएको बताए । नेताहरुले एमालेसँगको एकतालाई सम्मानजनक बनाउनुपर्नेमा पनि जोड दिए ।

कार्यक्रममा बोल्दै माओवादीका केन्द्रीय सचिवालय सदस्य सावित्रीकुमार काफ्लेले मौलिक हिसावले जनयुद्धका एजेण्डा कार्यान्वयन हुँदै गएको बताए । उनले अब फरक ढंगले आन्दोलन सुरु गर्ने तयारी भएको पनि बताए । ‘जनयुद्धका एजेण्डा मौलिक हिसावले संस्थागत भएका छन्, जनताको सत्ता आएको छ,’ काफ्लेले भने, ‘अब राष्ट्रिय औद्योगिक पूँजीवादको विकास गर्ने र समाजवादी क्रान्ति पूरा गर्ने चरणमा हामी छौं ।’ काफ्लेले अबको एक हप्ता भित्रमा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुने बताए ।

सोही कार्यक्रममा बोल्दै प्रतिनिधिसभाका सांसद तथा माओवादीका केन्द्रीय सचिवालय सदस्य सुरेशकुमार किरातीले जनयुद्धका उपलब्धीलाई संस्थागत गर्नुपर्ने बताए । सोही कार्यक्रममा बोल्दै प्रतिनिधिसभाका सांसद तथा माओवादीका पोलिटब्यूरो सदस्य शिवकुमार मण्डलले जनयुद्धले जनताका अधिकार स्थापित गराएको कुरा तल्लो तहसमम पुर्याउनु पर्नेमा जोड दिए । उनले सबै कम्युनिष्ट एक भएर अब आर्थिक समृद्धि र सुशासनका लागि लाग्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै बुद्धिजीवि प्राध्यापक डाक्टर गणेश क्षेत्रीले जनयुद्धलाई ऐतिहासिक दस्ताबेजको रुपमा बुझ्नुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दे माओवादी नेता हरि घिमिरेले एमालेसँगको एकता सम्मानजनक हुनुपर्नेमा जोड दिए ।