पानवारी/ जनयुद्ध दिवसको अवसर पारेर नेकपा माओवादी केन्द्रले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

मंगलबार धरानको भानुचोकमा माओवादी केन्द्र धरान उपमहानगर कमिटिले आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय ३ पिन्ट रगत संकलन भएको छ । जनयुद्ध दिवसको अवसरमा गरिएको रक्तदान कार्यक्रममा १४ जना नेपाली सेनाले समेत रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य तथा पूर्व गृहमन्त्री जनार्दन शर्माले जनयुद्ध दिवसको शुभकामना दिदै जनयुद्धले मुलुकमा ठूलो परिवर्तन ल्याएको बताए । उनले भने –‘जनयुद्ध नभएको भए यो परिवर्तन सम्भव थिएन ।’ उनले पार्टी एकता अहिलेको आवश्यता रहेको भन्दै स्थिर सरकार बनाउदै समाजवादी क्रान्ति सम्पन्न गर्नुपर्ने आवश्यकता रहेको बताए । उनी जनयुद्धका बेला विभिन्न युद्ध मोर्चाहरुको नेतृत्व समेत गरेका तथा पूर्व जनमुक्ती सेनाका डेपुटी कमाण्डर समेत हुन् ।

कार्यक्रमको अध्यक्षता माओवादी केन्द्र धरानका संयोजक चोत्लुङले गरेका थिए भने कार्यक्रममा सांसदहरु उमिता बराइली, शारदा पोखरेल माओवादी पोलिटब्युरो सदस्य मुक्सामहाङ मेन्याङ्बो, डम्बर सुवेदी, शिव डागी लगायतको उपस्थिति रहेको थियो ।