विराटनगर/ प्रदेश १ को मुख्यमन्त्रीमा एमाले नेता शेरधन राई नियुक्त भएका छन् । संविधानको धारा १६८ को उपधारा १ प्रावधान अनुरुम राईलाई बुधबार मुख्यमन्त्रीमा नियुक्त गरीएको हो ।
मुख्यमन्त्रीमा नियुक्त गरिएको पत्र प्रदेश प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङले राईलाई हस्तारण गरेका थिए । पत्र हस्तान्तरण गर्दै प्रदेश प्रमुख तुम्बाहाङले राईलाई सफलता शुभकामना दिए । मुख्यमन्त्रीको सपथ ग्रहण कार्यक्रम भने बिहीबार दिउँसो ३ बजे स्थानिय वीरेन्द्र सभा गृहको हलमा तोकिएको छ ।
मुख्यमन्त्रीको नियुक्त गरिएको पत्र बुझेपछि राईले सानोआकारको मन्त्रिपरिषद् गठन गर्ने जानकारी दिए । सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले भने, ‘सानोमा तीन वा ठुलोमा पाँच जनाको मन्त्रीमण्डल विस्तार हुनेछ ।’ बिहीबार विस्तार हुने मन्त्रीपरिषदमा माओवादीबाट समेत मन्त्रीहरु समावेश हुने उनले बताए । ‘वामगठन्धनबिच एउटा उच्च स्तरको समजदारी कायम भएको छ,’ उनले भने, ‘त्यसमा रहेर हामी मन्त्रीमण्ड विस्तार गर्नेछौं ।’ उनले सरकार बनेपछि आफ्नो प्राथामिकताहरु तोकेर गर्ने कामहरु चाँडै सार्वजानिक गर्ने बताए ।
एमालेले राईको नेतृत्वमा सरकार गठन गर्न सोमबार आफ्नो दाबी प्रस्तुत गरेको थियो । ९३ सदस्यीय प्रदेशसभामा एमालेको एकल बहुमत छ । एमालेका ५१ सांसद छन् ।