मोरङ/ तपाईहरुले प्रेम दिवस कसरी मनाउनु भयो ? अक्सर नजिकको विपरितलिङ्गीसँग घुमफिर, रमाइलो गरेर मनाउनु भयो होला । कतिले पारिवारिक प्रेम र सद्रभावका रुपमा मनाउनु भयो होला । तर झापाको दमक नगरपालिका कार्यालयले विशेष र फरक तरिकाले प्रेम दिवश मनाएको छ ।
वुधवार प्रेम दिवशका दिन दमक ७ स्थित रेडक्रस भवन छेउमा पश्चिमतर्फ रहेको खाली जमिनमा ‘रोज गार्डेन पार्क’ निर्माणको शिलान्यास गरेर सुन्दरता र प्रेमलाई निरन्तर आत्मीय वनाइराख्ने सन्देश दिएको छ । नगरपालिका प्रमुख रोमनाथ ओली र उपप्रमुख गीता अधिकारीले दूइवटा गुलाफको विरुवामा पानी हालेर पूर्वकै पहिलो गुलाफ पार्क निर्माणको शुरुवात गरे ।
४० लाखको लागतमा बन्ने पार्क दमकको प्रमुख आकर्षणको केन्द्र बन्ने नगर प्रमुख ओलीले बताउँदै भने ‘ यो पार्कको रमणीयताले मान्छेको मनलाई निस्वार्थ र मायावी वनाओस्, प्रेम दिवशको शुभकामना ।’ पञ्चायतकालमा पञ्चायत रजत स्तम्भ निर्माण भएको सो खाली ठाउँको सदुपयोगको लागि रोज पार्क वनाइएको उल्लेख गरे ।
यसैगरी उपप्रमुख अधिकारीले नगरपालिकाले पछिल्लो समयमा पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धनमा विशेष चासो राखेर काम गरिरहेको वताउँदै अन्य वाडहरुमा समेत नमुना पार्कहरु बनाउने योजना रहेको जनाइन् । त्यहाँ करीव ८ कठ्ठा क्षेत्रलाई व्यवस्थित र आकर्षक पार्क वनाउने योजनामा नगरपालिकाका आर्किटेक इन्जिनियर पारस खड्काले डिजाइन् तयार पारेका छन् । यो वर्ष सो पार्कका लागि ७ लाख वजेट विनियोजित छ ।
दमक नगरपालिकाले नगरलाई सुन्दर र आकर्षक हरित नगरका रुपमा विकास गर्ने लक्ष्य अनुसार दमक ९ मा चिल्ड्रेन पार्क, २ नम्वर वडामा फन पार्क, ४ मा डाकिनी पार्क डिजायनको क्रममा रहेका छन् । ती पार्कको डिजायनको काम सकेपछि निजि क्षेत्रलाई लगानीका लागि आव्हान गरिने योजना नगरपालिकाको छ ।