विर्तामोड/ चन्द्रगढी विमानस्थल भद्रपुरमा आइएफआर प्रविधिबाट जहाज ल्याण्ड गर्नका लागि शनिबार परीक्षण उडान गरिने भएको छ।
नागरिक उड्डयन प्राधिकरण भद्रपुर विमानस्थलका इन्चार्ज पूर्ण चुँडालका अनुसार आइएफआर प्रविधिका लागि सबै उपकरणहरु जडान भइसकेको छ।
चुँडालले भने, ‘कम भिजिविलिटीमा पनि जहाज ल्याण्ड गर्ने सक्ने आइएफआरका लागि सबै तयारी गरेर हामीले परीक्षण उडान गर्न लागेका हौं।’ उक्त परीक्षण उडान शनिवार काठमाडौंबाट आउने बुद्ध एयरको पहिलो जहाजले गर्ने उनले बताए।
अहिलेसम्म चन्द्रगढी विमानस्थलमा भिएफआर प्रविधिबाट जहाज अवतरण हुने गर्थ्यो। जसका लागि पाँच किलोमिटरको भिजिविलिटी आवश्यक हुने चुँडालले बताए। तर आइएफआर प्रविधिबाट जहाज अवतरण हुन थालेपछि १६ सय मिटरको भिजिविलिटीमा पनि जहाज अवतरण हुनसक्ने उनको भनाइ छ।
चुँडालले भने, ‘भालिको उडान परीक्षणका लागि हो। यदि हामीले गरेको तयारीले पुग्यो भने तत्काल आइएफआर प्रविधिमा जहाज अवतरण हुन्छ। पुगेन भने त्यस्को सबै तयारी पूरा गरेर आइएफआरमा हामी जान्छौं ।’
जाडो मौसममा बाक्लो हुस्सुका कारण भिजिविलिटी कम भएका कारण पटक पटक विमानस्थल बन्द हुने गरेकाले यात्रुले सास्ती खेप्नुपर्ने बाध्यताका माझ उक्त प्रविधि शुरु गर्न लागिएको विमानस्थल कार्यालयले जानकारी दिएको छ।
यो जाडो मौसममा मात्र १२ दिन विमानस्थल बन्द भएको बताइएको छ।