मोरङ/ एक नम्बर प्रदेशको नाम किरात र स्थायी राजधानी सप्तकोशी (चतरा) क्षेत्रको भूभागमा तोक्न माग भएको छ ।

किराती राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय समितिले मुख्यमन्त्री शेरधन राई, प्रदेश प्रमुख गोबिन्दबहादुर लिम्बू लगायतलाई प्रदेशको नाम र राजधानीको माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।

मोर्चा नेकपा (माओवादी केन्द्र) सम्बद्ध संगठन हो । एक नम्बर प्रदेशको नाम किरात राख्दा साझा र बहुपहिचानलाई समेट्ने मोर्चाको दाबी छ ।

किरात शब्द कैलाशी, काइलाती, कैरातीहुदै किरात भएको, कैलाश पर्बतबासी प्राचीन जातिलाई किराती र त्यो भूगोललाई किरात भन्न थालिएको आधारपत्रमा उल्लेख छ ।

इतिहासकार ईमानसिंह चेम्जोङ, दुर्गाहाङ याक्खा, समाजशास्त्री डोरबहादुर विष्ट, अंग्रेजी खोजकर्ताहरु कर्णेल कर्क पेट्रिक, हड्सन, सरजोन हेमिल्टन लगायतका विद्वानहरुले राई, लिम्बू, याक्खा र सुनुवार मात्र नभएर धिमाल, दनुवार, गुरुङ, मगर, थकाली, थारु, तामाङ, शेर्पा, कागते, लाप्चे, मेचे, कोचे लगायत १६ भन्दा बढीलाई किराती भनेको उक्त पत्रमा उल्लेख छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशितहुदै आएको बृहत नेपाली शब्दकोषले किरात भनेको ‘पूर्वी नेपालमा पर्ने माझ किरात तथा पल्लो किरातका नामले प्रसिद्ध एक प्रदेश, किरात’ भनि स्वीकार गरेको पत्रमा उल्लेख छ । यलम्बरदेखि योक्नेहाङसम्म ३२ जना किरातीहरूले १६३० देखि १९०३ बर्षसम्म राज्य गरेको उल्लेख भएको पाइन्छ ।

नयाँ ढंगको एकीकरण(भावनात्मक एकता)को लागि प्रदेशको नाम किरात राखिनुपर्ने बताइएको छ । सगरमाथा र कोशी नाम पनि किरात जस्तो साझा नहुने मोर्चाको पत्रमा उल्लेख छ ।

भौतिक विकास र समृद्धिको मुख्य आधार शान्ति भएको उल्लेख गर्दै शान्ति स्थापनाको लागि सम्बन्धित प्रदेशमा बस्ने अधिकांस जनताको भावनालाई बुझेर ब्यबहार गर्न सरकार र प्रदेशसभालाई मोर्चाले आधारपत्र मार्फत सुझाएको छ ।

पहिचानको आधारमा नाम नराखिए अशान्तिहुनुको साथै विदेशी चलखेल बढ्नसक्ने बताइएको छ ।

आधारपत्र प्रदेश प्रमुख गोविन्दबहादुर लिम्बू, मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता शेरधन राई, सभामुख प्रदिपकुमार भण्डारी, उपसभामुख सरस्वति पोख्रेल, कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (लिम्बूवान) र राप्रपाका संसदीय दलका नेताहरूलाई आधार पत्र बुझाएको मोर्चाका महासचिव अर्जुन किरातीले बताए ।