मोरङ/ मोरङको पथरीशनिश्चरे नगर क्षेत्रका विद्यालयहरुको आधारभूत तह उतीर्ण अन्तर्गत कक्षा ८ को वार्षिक परीक्षा चैत ८ गतेबाट हुने भएको छ ।
शिक्षा क्षेत्रको व्यवस्थापनको जिम्मेवारी नगरपालिका कार्यालयमा आएपछि गठित नगर शैक्षिक व्यवस्थापन समिति अन्तर्गत आधारभूत तह परीक्षा उतीर्ण समितिको मंगलवारको वैठकले सो निर्णय गरेको हो ।
नगरमा भएका सामुदायिक र संस्थागत विद्यालयको कक्षा ८ को वार्षिक परीक्षा चैत ८ देखि सुरु भएर चैत १८ गते सम्पन्न गर्ने तालिका वनेको आधारभूत तह परीक्षा उतीर्ण समिति संयोजक एवम् नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेले जनाए । जस अन्तर्गत सामुदायिक र संस्थागत गरी १, १ जना विषयगत शिक्षकहरुलाई विषयगत प्रश्नपत्र निर्माणको जिम्मेवारी दिइएको समितिका सदस्य एवम् नगरका स्रोतव्यक्ति गणेशप्रसाद दहालले वताए । प्रयोगात्मक परीक्षाको समय तालिका भनें विद्यालय आफैंले वनाएर सञ्चालन गर्ने निर्णय भएको पनि उनले उल्लेख गरे ।
नगरमा २८ वटा सामुदायिक र ३४ वटा संस्थागत विद्यालय रहेका छन् ।