मोरङ/ हात्तीपाइले रोग बिरुद्धको औषधि खानेको संख्या अधिक कम रहेपछि यसलाई बढाउने सन्देशका लागि झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी सहित सामाजिक अगुवाहरुले सार्वजनिकस्थलमा हात्तीपाइले बिरुद्धको औषधि खाएका छन् ।

लायन्स क्लव अफ माउण्ट एभरेष्ट दमकको आयोजनामा गणतन्त्र चोकमा भएको हात्तीपाइले रोग सम्बन्धिको सचेतना कार्यक्रममा नगर प्रमुख ओली र उपप्रमुख अधिकारी सहितले सहभागिमाझ औषधि खाएर औषधिप्रतिको भ्रम चिरेका हुन् । औषधि खाइसकेपछि उनीहरुले हात्तीपाइले रोग बिरुद्धको औषधिले असर नगर्ने जनाउँदै सबै नगरबासीलाइ खान आग्रह गरेका छन् । ‘औषधि खाएपछि विरामी परिन्छ भन्ने भ्रम मात्रै हो ।’– ओलीले भने । फागुन १२, १३ र १४ गते हात्तीपाइले विरुद्धको औषधि खुवाउने कार्यक्रममा लागि यस वर्ष अलि बढी प्रचार प्रसार सहितका अन्तरक्रियात्मक गोष्ठीहरु भएका छन् ।

दमकमा गतवर्ष ३० प्रतिशतले मात्र औषधि खाएको थाहा पाएपछि यस्तो अवस्था यो बर्ष नआओस भनेर सचेतनाका लागि लायन्सले पनि अभियान थालेको लायन्स क्लव अफ माउण्ट एभरेष्टका अध्यक्ष रुद्र गौतमले वताए ।

सो अवसरमा दमक नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्यालले झापामा सबैभन्दा कम औषधि सेवन गर्ने नगरपालिका नै दमक भएको जनाए । उनले यसपटक औषधि खानेको संख्या ३० प्रतिशतबाट ७० प्रतिशत पुग्ने अपेक्षा रहेको बताए ।

पथरीशनिश्चरेमा पनि अभियान

हात्तीपाइले विरुद्ध औषधि खुवाउने कार्यक्रमलाई प्रभावकारी वनाउन मोरङको पथरीशनिश्चरेमा स्थानीयका लागि दैनिक रुपमा अभिमुखिकरण कार्यक्रम भइरहेको छ ।

यस क्रममा पथरीशनिश्चरे नगरपालिका अन्तर्गतको स्वास्थ्य समितिले विहीवार वडा नम्बर २ र १० का जनप्रतिनिधिसहितका सामाजिक अगुवालाई नगरपालिका कार्यालयमा र ३ नम्बरका जनप्रतिनिधि सहितका अगुवालाई किरातीचौकमा अभिमुखीकरण तालीम दिएको छ ।

त्यसैगरी, शिक्षण संस्थाहरुमा समेत औषधि सेवनको जनचेतना फैलाउने क्रममा आज विहान पथरी वहुमुखी क्याम्पसका १ सय ३३ जना विद्यार्थीलाई अभिमुखीकरण दिइएको छ । वडा वडामा माइकिङ समेत थालिएको छ । शुक्रवार वडा नम्वर १ का लागि स्वयमसेवकहरुलाई तालीम प्रदान गरिने छ ।

यो अभियानका लागि १० वटै वडाबाट २५,२५ जनाका दरमा स्वयमसेवक तयार गर्ने कार्यक्रम अघि सारेको छ । पथरीशनिश्चरे नगरमा पनि १ दर्जनको संख्यामा हात्तीपाइलेका विरामी रहेको र सवै मानिसले अनिवार्य रुपमा औषधि खानु पर्ने कुरा बुझाउँदै औषधि खुवाउन तयार स्वयमसेवकका लागि अभिमुखिकरण कार्यक्रम अगाडि बढेको हो । जसमा पहिलो कार्यक्रमका रुपमा वुधवार वडा नम्बर २, ३ र ७ मा औषधि खुवाउन स्वयमसेवामा सहभागि हुनेहरुका लागि नगरपालिका कार्यालयमा अभिमुखिकरण प्रदान गरिएको छ । त्यसअघि शिक्षक, जनप्रतिनिधि सहितका समाजका अगुवालाई सोही विषयमा सहजिकरण गरिएको थियो ।

कार्यक्रममा नगरपालिका प्रमुख दीलिपकुमार राईले हात्तीपाइलेको औषधिप्रति कुनै भ्रम नराखी सवैले औषधि सेवन गरेर कुरुप हुनबाट जोगिन आव्हान गरेका छन् । स्वास्थ्य संयोजक मुरारीप्रसाद आचार्य र पथरी स्वास्थ्य चौकीका सहायक इञ्चार्ज याम खड्का र जगत मगरले अभिमुखीकरणको सहजिकरण गरिरहेका छन् ।

पोथी जातको क्युलेक्स लामखुट्टेबाट सर्ने हात्तीपाइलेबाट शरीर कुरुप भएपछि पहिलेको अवस्थामा फर्काउन समस्या हुने जनाउँदै त्यसबाट वच्न औषधि खानुको विकल्प नभएको वताएका छन् । औषधि खुवाउने दिनसम्ममा सवै समूहलाई अभिमुखिकरण प्रदान गरी औषधि खुवाउने कामलाई प्रभावकारी वनाइने संयोजक आचार्यले उल्लेख गरे ।

नगरमा ३ वटा स्वास्थ्यचौकी र एउटा सहरी स्वास्थ्य केन्द्र मार्फत औषधि खुवाउनकालागि महिला स्वास्थ्य स्वयमसेविका सहित २ सय ९० जना स्वयम्सेवक तयार गरिएको छ ।