विराटनगर/ १ नम्बर प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले सरकारको निती तथा कार्यक्रमम मार्फत हिंसाको घटनमा कमि ल्याउने बताए । पछिल्लो समय हिंसाको घटनामा वृद्धी आएको भन्दै उनले सरकारको निती निमार्णबाट हिंसाको घटनामा कमी ल्याउने बताएका हुन् ।

माइती नेपाल २५ औं वर्षमा पुगेको अवसरमा सुरु भएको ‘मानव बेचबिखनविरुद्ध हाम्रो यात्रा’ कार्यक्रममा आइतबार बोल्दै मन्त्री घिमिरले हरेक बालबालिका तथा महिलाको सामाजिक सुरक्षाका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने बताए ।

नेपाल र भारतको सीमा क्षेत्र रानीमा आयोजित कार्यक्रममा बोल्दै माइती नेपालका निर्देशक विश्वराम खड्काले नेपाली महिलाको अनुहार काटेर छाला विक्री गर्ने धन्दा सुरु भएको बताए । महिला तथा बालबालिकाको तस्किर आन्तरिक, सीमा पार र समुद्र पारीसम्म हुने गरेको बताउँदै खड्काले दक्षिण अफ्रिका, वेष्टइण्डिजको ट्रिनिडा एण्ड टोनेगो भन्ने देशसम्म तस्करी हुने गरेको तथ्यांक रहेको खड्काले जानकारी दिए ।

यस्तै मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले मानव बेचबिखनको अवस्था भयावह हुँदै गएको बताए । वैदेशिक रोजगारीका कारण रेमिट्यान्स आएको भएपनि त्यसले सामाजिक मूल्य कमजोर बनाउँदै गएकोप्रति गम्भीर हुनुपर्ने पौडेलले बताए । सन् २०१७ मा जोगबनी नाकाबाट भारत लैजाँदै गरेका १ सय २० जनालाई रोकिएको छ भने सीमापारी लगिसकिएका ४० जनालाई उद्धार गर्न सकिएको माइती नेपालले जनाएको छ ।

कार्यक्रमका अवसरमा सार्वजनिक तथ्यांक अनुसार ४२ जना हराएका, २ जना घरेलु हिंसामा परेको, ९ जना हराएका भेटिएको र ७ जना बलात्कारमा परेको उल्लेख छ । यस्तै हिंसामा परेर सुरक्षित बसाइसराई गरेकाको संख्या १ हजार ८ सय ६४ रहेको छ । सबैभन्दा बढी मोरङ जिल्लाबाट ३४ जना, सुनसरीबाट ३० जना, उदयपुरबाट १४ जना र झापाबाट १२ जना बेचविखनको शिकार भएको उल्लेख छ । बेखबिखनमा परेका १ सय २० जनामध्ये १८ वर्षभन्दा मुनीका ५८ जना बालबालिका मात्रै रहेको उल्लेख छ ।