विराटनगर/ प्रदेश १ मा सोमबार बसेको पाँचौ संसद बैठकले कार्यव्यवस्था परामर्श समिति र प्रदेशसभा नियमावली मस्यौदा समिति गठन गरेको छ । विराटनगरस्थित प्रदेशसभा भवनमा बसेको बैठकले सर्वसम्मत रुपमा दुबै समिति गठन गर्ने प्रस्ताव पारित गरेको हो ।
सभामुखको अध्यक्षता तथा उपसभामुख र कानुनमन्त्री पदेन उपाध्यक्ष रहनेगरी गठन भएको ११ सदस्यीय समिति गठनको प्रस्ताव बैठकमा सभामुख प्रदिपकुमार भण्डारीले गरेका थिए । समितिमा प्रदेश संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधि रहेका छन् । कार्यव्यवस्थापन परामर्श समितिमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलबाट समेटेर ८ जनाको समिति बनाएको छ ।
जसमा नेकपा एमालेका इन्द्रमणि पराजुली, बुद्धिकुमार राजभण्डारी र जयमाया गजमेर, नेपाली काँग्रेसका केदार कार्की, माओवादी केन्द्रका मोहनबहादुर खड्का, संघीय समाजवादी फोरमका जयराम यादव, राप्रपाका इन्दीरा राई र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका विष्णु तुम्बाहाम्फे रहेका छन् । समितिले प्रदेशसभाको अन्तरिम कार्यविधको दफा १५ बमोजिक सभाको बैठकमा पेश हुने विषयहरुको प्राथमिकता र समयअवधिको निर्धारण गर्नेछ । यस्तै प्रदेशसभा बैठकलाई सुव्यवस्थित ढंगले सञ्चालन गर्ने र सभामुखले आवश्यक ठह¥याएको विषयमा परामर्श दिने काम पनि समितिले गर्नेछ ।
सोमबारकै बैठकले प्रदेशसभाको कार्यसञ्चालन गर्न बैठकको सुव्यवस्था कायम राख्न तथा विभिन्न समितिहरुको गठन, काम कारवाही र अन्य कुरा नियमित गर्नका लागि ११ सदस्यीय प्रदेशसभा नियमावली मस्यौदा समिति गठन गरेको छ । अन्तरिम कार्यविधबाट सञ्चालन हुँदै आएको प्रदेशसभाले आफ्नो नियमावली बनाउने बनाउने प्रक्रिया थालेको हो ।
नियमावली मस्यौदा समितिमा एमालेका लिलाबल्लभ अधिकारी, उत्तमकुमा बस्नेत, एकराज कार्की र सावित्रा रेग्मी, नेपाली काँग्रेसका सुर्यमाराज राई र शान्तादेवी पौडेल, माओवादी केन्द्रका झलकबहादुर मगर र रामकुमार राई, संघीय समाजवादी फोरमका रामचन्द्र लिम्बू, राप्रपाका इन्दिरा राई र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका विष्णु तुम्बाहाम्फे रहेका छन् । प्रदेशसभा बैठकमा नियमावली मस्यौदा समिति गठनबारेको प्रस्ताव एमाले सांसद बुद्धिकुमार राजभण्डारीले राखेका थिए भने काँग्रेसका सांसद ज्योति सुब्बाले समर्थन गरेकी थिइन् ।
कार्यव्यवस्था परामर्श समिति र प्रदेशसभा नियमावली मस्यौदा समिति सर्वसम्मतले गठन गरेपछि चैत ७ गते १ बजेसम्मको लागि बैठक स्थगित भएको सभामुख प्रदिपकुमार भण्डारीले जानकारी दिए ।
यसघि बैठकमा सभामुख भण्डारीले प्रदेश मन्त्रीपरिषद गठनबारे प्रदेश प्रमुखको पत्र संसदमा पढेर सुनाएका थिए ।