दृष्टिविहीन युवती सृष्टि केसीको जीवनमाथी आधारित भएर निर्माण भएको फिल्म ‘ब्लाइन्ड रक्स’ यही शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । फिल्ममा सृष्टिको भूमिका अभिनेत्री वेनिशा हमालले निर्वाहा गरेकी छिन् । आमाको भूमिकामा गौरी मल्ल छिन् भने प्रेमीको भूमिका अर्पण थापाले निर्वाहा गरेका छन् ।

युट्युबमा सार्वजनिक भएको ट्रेलरबाट गतिलै प्रतिक्रिया आइरहँदा वेनिशा भने ‘ब्लाइन्ड रक्स’ आफ्नो लागि अवसर र चुनौती दुवै रहेको बताउँछिन् । उनी भन्छिन्, ‘बायोपिक फिल्म गर्नु आफैंमा चुनौतीपूर्ण हुन्छ । मलाई सृष्टि जस्तै देखिनु पर्ने चुनौती थियो । र, त्यो चुनौती सँग-सँगै अवसर पनि साथमा नै थियो । चुनौती मोलेर काम गर्नुमा मज्जा पनि आउँदो रहेछ ।’

वेनिशाले अगाडि थपिन्, ‘ट्रेलर रिलिज भएपछि मलाई धेरैले अनुहारमा पिम्पल्स देखिँदा नराम्रो देखियो भन्नुभयो । तर, वास्तविकता के हो भने मैले सृष्टि जस्तै देखिनका लागि ६ केजी तौल घटाउनुको साथ- साथै पिम्पल्स पनि लिएर आएकी थिएँ ।’ उनले भविष्यमा पनि सबैले सम्झने भएका कारण बायोपिक फिल्म ‘ब्लाइन्ड रक्स’ रोजेको बताइन् ।

‘ब्लाइन्ड रक्स’ मा काम गरेपछि दृष्टिविहिन र अपाङगता भएकाहरुप्रति हेर्न मेरो दृष्टिकोणमा पनि परिवर्तन आयो ।’ वेनिशा भन्छिन्, ‘दृष्टि गुमाएकाहरु पनि दृष्टि भएकाहरु जत्तिकै सक्षम छन् । देख्न सक्दैन भन्दैमा उहाँहरुलाई विशेष व्यवहारको आवश्यकता छैन । उहाँहरु पनि सामान्य मानिस सरह हुनुहुन्छ । उहाँहरु हामी जस्तै सक्षम हुनुहुन्छ ।’

निकेश लिम्बुको निर्माणमा बनेको फिल्मका निर्देशक मिलन चाम्स हुन् । फिल्मको विषयमा निर्देशक चाम्स भन्छन्, ‘सृष्टिको वास्तविक जीवन फिल्मभन्दा कम छैन । जहाँ मायाप्रेम भेटिन्छ, संघर्ष भेटिन्छ । फिल्ममा सृष्टिको १४ वर्षको उमेरदेखि २४ वर्षसम्मको कहानी छ ।’

‘ब्लाइन्ड रक्स’ प्रिमियरका लागि बेलायतबाट नेपाल आएका निर्माता निकेश आफ्ना लागि फिल्मको व्यवसायिक सफलताभन्दा पनि दर्शकको मन जित्नु सबैभन्दा ठूलो सफलता रहेको बताउँछन् ।

यस्तै, सृष्टि केसीले आफ्नो जीवनमाथी फिल्म बन्नु सबैभन्दा ठूलो उपलब्धी रहेको बताइन् । उनले भनिन्, ‘ब्लाइन्ड रक्स’ ले मेरो फिलोसोपीलाई न्याय दिन्छ भन्नेमा विश्वस्त छु । फिल्ममा आफ्नो भूमिका आफैंले निर्वाहा गर्दा मिठास नआउने भएका कारण काम गरिनँ । तर, भविष्यमा अभिनय पनि गर्दैछु ।’