मोरङ/ मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जिल्लाको पथरीशनिश्चरे नगरमा विद्यमान जग्गाको दोहोरो स्वामित्वको समस्या समाधान गर्न नगरपालिका कार्यालयले प्रक्रिया अगाडि बढाउनु पर्ने बताएका छन् ।

प्रमुख जिल्ला अधिकारी आचार्यले पथरीशनिश्चरे नगरपालिका कार्यालयमा त्यहाँका जनप्रतिनिधिहरुसँग आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् । दोहोरो स्वामित्वको नगरको लामो समयदेखिको विवादले आफुलाई समेत मानहानीको मुद्धा लागेको प्रसङ्ग उल्लेख गर्दै उनले भने ‘दोहोरो स्वामित्वको समस्या समाधानका लागि हामीहरुलाई समेत राखेर दुवै पक्षबीच छलफल चलाउनुहोस् ।

यसमा हामी सक्दो सहयोग गर्ने छौं ।’ दोहोरो स्वामित्व सहित सुकुम्वासी एवम् वसोवासको सम्बन्धमा नगरपालिकाले कार्यविधि वनाउँदै गरेको कुरा राखिएपछि आचार्यले कार्यविधि तयार गरी दुवैपक्षको त्यागको वातावरण वनाएर स्थानीय तहले नै समस्या समाधान गर्न सकिने उल्लेख गरे । अन्तरक्रियामा सहभागि स्थानीय केही जनप्रतिनिधिहरुले किर्ते गरेर पूर्जा निकाल्नेको पूर्जा खारेजी हुनुपर्ने समेत माग राखे । नगरपालिकाले सूचना प्रकाशित गरी दोहोरो स्वामित्वमा वसोवास भएकाहरुको लगत माग गरेको छ ।

स्थानीय तहले संघीय संरचनाको ढाँचामा काम गर्दा परेका अप्ठ्यारा कुराहरुलाई केलाएर त्यसलाई निराकरण गर्ने बारेको सोमवारको अन्तरक्रियामा नगरमा दोहोरो स्वामित्वका साथै शान्ति सुरक्षा सहितका विविध पक्ष जनप्रतिनिधिले उठाएका छन् । सो क्रममा, कुसे प्रहरी चौकीका इञ्चार्ज नन्दलाल अधिकारी थारुले आफुसँग नगर उपप्रमुख यमुना विष्टले गरेको सुरक्षा सहयोगका सन्दर्भमा भएको फोनवार्तालाई गलत रुपमा व्याख्या गरेर सञ्चारवाजी गरेको नगरप्रमुख दीलिपकुमार राईले उल्लेख गरे ।

प्रहरीले समन्वय नगरी उचाल्ने काम भएबाट सो घटनाले न्यायिक समिति संयोजक विष्ट सहितका सदस्यलाई काम गर्न असहज भएकाले घटनाको छानविनका लागि न्यायिक समिति सदस्य भद्रमान विश्वकर्मा र दुर्गाप्रसाद सिटौलाले माग गरेका छन् । पथरीशनिश्चरे ६ की कमली चन्द्रवंशीले वहिनी विमला चन्द्रवंशीको नामको ७ कठ्ठा १८ धुर जग्गा १६ लाखमा किन्छु भन्दै ५० हजार बैनागरेर कागज गरेपनि जग्गा नकिनी जग्गा समेत नछोडेको घटनालाई उपप्रमुखसँग जोडेर अनर्गल कुरा बाहिर ल्याइँदा न्याय समितिलाई काम गर्न अप्ठेरो परेको उनीहरुले उल्लेख गरेका थिए ।

चन्द्रवंशीले आफ्नो जग्गा हुँदा हुँदै वहिनीज्वाइको जग्गामा वस्दै जग्गा पनि नछोडेको र किन्न पनि पटक पटक भाका सारेर न्यायिक समितिलाई समेत तनाव दिएको अवस्थामा सुरक्षाकर्मीले उपप्रमुखसँग भएको फोनवार्तालाई धम्कि दिएको भन्दै वाहिर ल्याइएको कार्यक्रममा जनाइएको छ । उप्रमुखले उल्टै वास उठाउने काम गरेको भन्दै सञ्चारमाध्यममा अनर्गल प्रचारवाजीले समस्या बढाउने काम गरिरहेको कुरा जोडदार रुपमा न्यायिक समितिले उठाएको छ ।

सो सम्वन्धमा सहायक प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले प्रहरीले स्थानीत तहसँग समन्वय गर्नुपर्ने कुरा वताउँदै सो बारेमा आफुले अध्ययन गर्ने जवाफ दिएका छन् ।

जयचौक र जिरिखिम्तीमा सुरक्षा विटको आवश्यकता, नगरपालिकामा कर्मचारीको अभाव, डाँसखोलाको पुल र जिरिखिम्ती वस्ती कटानले संकटमा पारेको लगायतका माग जनप्रतिनिधिले राखेका छन् । प्रमुख जिल्ला अधिकारी आचार्यको नेतृत्वको टोलीले सोही दिन लेटाङमा पनि स्थानीयसँग सोही प्रकारको अन्तरक्रिया गरेको छ ।