बेलबारी/ मुख्यमन्त्री शेरधन राईले १ नम्वर प्रदेशमा रोजगारको अवशर सृजना गरेर दश वर्ष भित्रमा प्रदेशका युवाहरु खाडी मुलुक जान प्रथाको अन्त्य गर्ने बताएका छन् ।

बुधवार मोरङको बेलबारीमा आयोजित बेलबारी शिक्षा तथा स्वास्थ्य महोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले सो बताएका हुन् । प्रदेश नं. १ मा सगरमाथा, निकुञ्ज, धार्मिक साँस्कृतिक, नदिनाला लगायत अन्य पर्यटकीय क्षेत्र रहेको हुँदा यहाँको विकास र समृद्धिको लागि गुरु योजना बनाएर सुखी र समृद्ध प्रदेश बनाउने मुख्यमन्त्री राईले बताए । यहाँ लाखौलाख पर्यटकहरु भित्राएर आन्तरिक आयश्रोतको वृद्धि गर्ने , उद्योग कलकारखानाको स्थापना र प्रोत्साहन गरेर रोजगारको अवशर सृजना गर्ने बताएका छन् ।

‘कम्तिमा पनि प्रदेश नं. १ का युवाहरुले खाडी मुलुकमा गएर पसिना बगाउन नपरोस् हामी दश वर्ष भित्रमा त्यस्तो देश बनाउन चाहन्छौं , मुख्यमन्त्री राईले भने । अबको पाँच वर्षमा हरेक घरमा उज्यालो बनाउन चाहन्छौं । लोड सेडिङ मुक्त क्षेत्र बनाउन चाहन्छौं । मुख्यमन्त्री राईले भने । अब हामी राजनैतिक स्थायित्व कायम भएको देश बनाउन चाहन्छौं । सुशासन भएको देश बनाउन चाहन्छौं । यो युगलाई विकास , समृद्धि र स्थायी शान्तिको युग चाहन्छौं राईले भने ।

अव राष्ट्रको एउटै एजेण्डा विकास र समृद्धि रहेको हुँदा विकास र समृद्धिको पाटोमा सबै लाग्न आह्वान पनि गरे । नेपालमा द्धन्द्धको युग अन्त्य भईसकेको हुँदा अब कुनै पनि बहानामा मुलुक द्धन्द्ध तर्फ नजाने उनले दावी गरे । कार्यक्रममा मोरङ क्षेत्र नं. ३(क) का सांसद सुर्यमा राईले नेपाली रानीतिकको सँस्कार बदल्नु पर्ने बताए ।

कमिसन,भ्रष्ट्रचार मात्र नेताको परिचय बनेको हुँदा अब जनताले राजनैतिक नेताहरुबाट राम्रो सँस्कार सिक्नु परिस्थितिको निर्माण गर्न आह्वान गरे । युवा जागरण नेपाल बेलबारीको आयोजनामा भएको कार्यक्रममा स्वागत मन्तव्य राख्दै समितिका सदस्य जनक सुब्बाले शैक्षिक क्षेत्रका गतिविधि, त्यसको विकास र प्रवद्र्धनलाई लक्षित गरेर महोत्सव आयोजना गरिएको बताएका थिए । फागुन २५ गते सम्म संचालन हुने महोत्सवमा शिक्षा र सम्वन्धि चेतना मुलक कार्यक्रहरु हुने बताइएको छ । साथै, महोत्सवमा विभिन्न शैक्षिक प्रर्दशनी, प्रतियोगिता र सांगीतिक कार्यक्रम हुने समितिका सचिव हरि गुरुङले बताए । कार्यक्रम समितिका अध्यक्ष सुविन बस्नेतको सभापतित्वमा सम्पन्न भएको थियो ।