मोरङ/ कार्यक्रमको उद्धेश्य एकातिर र गतिविधि अर्कैतिर भएका धेरै कार्यक्रम देखिएका छन् । तर मंगलवार मोरङको पथरीशनिश्चरे नगरपालिकाले गरेको एउटा कार्यक्रम भनें घतलाग्दो वन्यो ।

मन्तव्यको पालो सुरुमै पाएका ७ नम्वर अध्यक्ष एवम् सामाजिक विकास समिति संयोजक कपिलमणि ढकाल संकटमा परेझैं भए । तर उनले आफुले आजको दिनमा जे चिज त्याग्नु पर्ने कुरा कार्यक्रमले मागिरहेको थियो त्यो उनी त्याग्न तयार भए । मुसुमुसु हाँस्दै वोल्दै गएका उनले घोषणा गरिहाले ‘म आजैदेखि धुमपान त्याग गर्दै हाम्रो यो अभियानलाई व्यवहारिक रुपमा सफल वनाउन सवैलाई आव्हान समेत गर्दछु ।’ यति भनेर मन्तव्य टुङ्ग्याउने वितिक्कै उनले वाहिर निस्केर आफ्नो मुखमा रहेको गुट्का थुकेर मुख खोकलेर कार्यक्रममा वसे ।

त्यसो त त्यस अघि नै नगर प्रमुख दीलिपकुमार राई किशोर पनि संकटमा परेसरह भएका थिए । छैटौं स्वास्थ्य सेवा दिवश मनाउन नगर स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रम उद्घाटनकै क्रममा ५ वटा प्रतिवद्धतालाई आफ्नै प्रतिवद्धता मानेर हस्ताक्षर गरिसकेका थिए । म धुमपान, मध्यपान गर्दिन, म नियमित व्यायाम गर्छु, म स्वस्थ र पोषिलो खानेकुरा खान्छु, म नियमित स्वास्थ्य परीक्षण गराउँछु र म मेरो परिवार र नगरवासीको स्वास्थ्यप्रति सजग रहन्छु भन्ने प्रतिवद्धताको बीचमा उनै प्रमुखको फोटो थियो । ती प्रतिवद्धता पुरा गर्न छात्तीमा हात राखिएको फोटो सहितको फ्लेक्स व्यानरमा सजिएका थिए उनी । उनले ५ प्रतिवद्धता र त्यसबाट हुने ५ फाइदा रहेको व्यानरको घुम्टो उघारे । त्यसलाई आफुले अक्षरस पढ्दै र सहभागीलाई पनि सँगसँगै पढ्न लगाएर सवैलाई त्यसमा प्रतिवद्ध वनाउँदै कार्यक्रमको उद्घाटन् गरेका थिए । आफ्नो वोल्ने पालोमा उनले भने ‘ म राईको छोरोलाई यहाँनेर सांस्कृतिक संकट परेको अवस्था एउटा छ । अर्कातर्फ, आजैदेखि मैले खाने गरेको खैनी त्याग गर्दछु ।’

कार्यक्रमका सभाध्यक्षका रुपमा रहेका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेले सभा विसर्जन गर्नुअघि व्यानरतिर देखाउँदै भने ‘ म यी पाँचै कुरालाई पहिलेदेखि नै पालना गर्दै आइरहेको छु ।’ उनले आफु इलाम नगरपालिकामा हुँदा दोस्रो सूर्तिमुक्त सदरमुकाम वनाएको प्रसंग अघि सार्दै तात्कालिन कार्यक्रमका रुपमा पथरीशनिश्चरे नगर हाताभित्र धुमपान गर्ने व्यक्तिहरुलाई प्रवेश निषेध गर्ने अभियान सञ्चालन गरिने वताए । सूर्तिजन्य वस्तुको नियन्त्रण र नियमन ऐन ०६८ लाई कार्यान्वयन गर्न सवै पक्षले साथ दिनुपर्ने जनाउँदै त्यसको उलंघन गर्नेलाई जरिवाना गर्दै कार्यालय प्रवेशमा रोक लगाउन सक्ने अधिकार स्थानीय तहको प्रमुखलाई रहेको कुरा प्रष्ट्याए । सार्वजनिक स्थलमा धुमपान गर्न नपाउने कुरा कार्यान्वयन नभएको अवस्थामाथि उनी केन्द्रीत भएका थिए । धुमपानसँगसँगै मद्यपानको कुरालाई पनि व्यवस्थित गर्नुपर्ने आवश्यकता पनि उनले औंल्याए ।

कार्यक्रम सञ्चालक स्वास्थ्य संयोजक मुरारी आचार्यले यी कुराहरु भइरहँदा सवैभन्दा बढी खुसी नगर प्रवक्ता यामप्रसाद गुरागाईं भएको कुरा उद्घोष गर्दै गर्दा गुरागाईं मुसुमुसु हाँस्दै थिए । उनले भने ‘ हो म आज साँच्चै खुसी छु । ज्यानै कुरुप हुनबाट जोगाउने हात्ती पाइलेको औषधि खान नमान्ने तर ज्यानै लिने तस्वीर राखिएका सूर्तीजन्य वस्तु खोजी खोजी सेवन गर्न तयार हुनेहरुको विडम्वनालाई यस्ता कार्यक्रमले चिर्दै जाने अभियानका रुपमा यो काम सुरु भएकोमा खुसी लागेको छ ।’

सो नगरपालिकामा पहिलो पटक मनाइएको स्वास्थ्य सेवा दिवशका विशेष अतिथि उपप्रमुख यमुना विष्टले सरकारी स्वास्थ्य केन्द्रलाई विपन्नको तहसम्म पुर्याउन तथा प्रसुती तथा सर्पदंश सेवा समेत सञ्चालन गर्न आजको आवश्यकता रहेकाले अवको नीति तथा कार्यक्रममा यी विषयमा छलफल गरिने उल्लेख गरिन् । निजामति सेवाबाट स्वास्थ्य सेवा अलग भएपछि स्वास्थ्य सेवा दिवश मनाउन थालिएको हो । कार्यक्रममा नगरका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयमसेविकाहरुको उपस्थिती रहेको थियो ।