पानवारी/ बजारमा उच्च माग भएको तथा फर्निचरमा उच्च गुणस्तरको रुपमा रहेकोे सिसौ जातका रुखहरु पूर्वाञ्चल क्याम्पस धरानमा भने कुहिएर नष्ट भइरहेको छ ।

इन्जिनियरिङ अध्ययन संस्थान पूर्वाञ्चल क्याम्पस धरानको हाता भित्र ३४ विगाहा क्षेत्रफलमा लगाइएको सिसौका रुखहरु कुहिने अवस्थामा पुगेका छन् । एकाध बाहेक सबै सिसौ सुकेका छन् भने सुेकेका पनि अधिकांश रुखहरु ढलिसकेका छन् । धेरैवर्षदेखि लथालिंग अवस्थामा लडेका सिसौका रुखहरु कुहिएर कामै नलाग्ने अवस्थामा पुगेका छन् ।

क्याम्पसको हाताभित्र रहेको ३४ विगाहा ११ कठ्ठा जमिनमा लगाइएको रुखहरु मध्येबाट यसअघि टेण्डर गरी १० लाख ८७ हजार रुपैयामा विक्री गरिएको थियो । त्यसबेला जम्मा एक चौथाई (चारभागको एक भाग) मात्र रुख बेच्दा पनि १० लाखमा बेचिएको क्याम्पसका लेखा प्रमुख सुरेश सुवेदीले बताएका छन् । त्यसबेला १० लाखमा विक्रि गरिएको रुख काठको प्रयोजनमा नभइ दाउराको रुपमा बेचिएको थियो । काठ संकलन गरी घाटगद्दी गरेर राखेको २ वर्ष पछि मात्र विक्री भएकोले अधिकांश काठ सडेर काम नलाग्ने अवस्थामा पुगेपछि बहुमुल्य सिसौका लकडी क्याम्पसले दाउराको रुपमा बेचेको थियो ।

त्यसै बेलादेखि अन्य रुखहरुपनि मर्न थालिसकेकोले गर्दा व्यवस्थापन गर्नुपर्ने अवस्था आएको भएपनि क्याम्पसको प्रशासनमा राजनीतिक खिचातानिले गर्दा त्यसको व्यवस्थापन हुन नसकेको विद्यार्थीहरुले बताउछन् । क्याम्पस कमिटि अखिल अध्यक्ष मुकेश न्यौपानेले भने हामीले बारम्बार यसबारे क्याम्पस प्रसाशनलाई दबाब दिदा पनि क्याम्पसको आन्तरिक खिचातानीले गर्दा व्यवस्थापन हुन सकेको छैन । जसले गर्दा लाखौको काठ कुहिएका छन् ।

४ वर्ष अघि टेण्डर गर्ने भनेर तयारी गरे पनि आन्तरिक खिचातानीले टेण्डर नै आह्वान हुन नसकेको बुझिएको छ । नाम नछाप्ने शर्तमा क्याम्पसका एक कर्मचारीले भने –‘४ वर्ष अघि टेण्डर गरेको भए क्याम्पसको आम्दानी धेरै हुने थियो तर अहिले त ४ वर्षको अवधिमा आधा रुखहरु त नष्ट नै भइसके ।’ उनले भने पहिले पनि समयमा बेच्न नसक्दा ४८ लाखमा विक्रिका लागी आह्वान गरेको टेण्डर अन्तिममा आएर काठ कुहिएपछि १० लाखमा बेच्नु प¥यो, अहिले पनि समयमै व्यवस्थापन गरेको भए लाखौ होइन करोडको काठ कुहिएरै गयो ।

बजारमा भने सिसौको काठ बहुमुल्य मानिन्छ । व्यवसायीहरुबीचमा सिसौको काठ किन्नको लागी प्रतिष्पर्धा नै चल्छ । शिवबाबा फर्निचरका सञ्चालक मनोज राउत भन्छन् –‘सिसौको काठ अब त दुर्लभ नै भइसक्यो भन्दा हुन्छ, इन्जिनियरिङ क्याम्पसमा त्यतिका परिणाममा भएको काठ उपयोग नगरी कुहिदा क्याम्पसको सम्पत्ति त नष्ट भयो भयो आम उपभोत्ताले पनि उपभोग गर्न पाएनन् ।’

क्याम्पस प्रमुख जितेन्द्र चौधरीले भने आन्तरिक खपत गर्नको लागी आफै काठ चिरान गर्ने निर्णय गरेको बताए । उनले भने –‘क्याम्पसमा विद्यार्थीको चाप बढ्दै गएको र पुराना फर्निचरहरु काम नलाग्ने अवस्थामा पुगेकोले यहाँ रहेका सिसौको फर्निचर बनाएर प्रयोग तयारीमा छौं । अब छिट्टै हामी आन्तरिक खपतको लागी काठ चिरान गरी फर्निचर बनाउछौं ।’

४ वर्ष अघिदेखि टेण्डर गर्ने तयारी किन गरिएन भन्ने प्रश्नमा उनले भने –‘हामीलाई आन्तरिक प्रयोजनमा (डेस्क बेञ्च) पनि धेरै परिणाममा फर्निचर चाहिएको छ । हामीले बाहिर विक्री गर्दा अत्यन्तै कम मूल्यमा विक्री हुने र किन्दा बढी मूल्य तिर्नुपर्ने भएकोले आफैले प्रयोग गर्ने निर्णय गरेका हौ ।’ तर आन्तरीक प्रयोग गर्नपनि समय लाग्ने हुँदा काठहरु अझै नष्ट हुने देखिएको छ । ४ वर्षको अवधिमा आधा नष्ट भएको काठ अब पनि प्रयोगमा नल्याउने हो भने २ वर्षमा सडिएरै सकिने चिन्ता गर्छन् स्ववियू सभापति अनुभव पोखरेल । उनी भन्छन् जसरी पनि यो करोडौको सम्पति सदुपयोग होस् र सम्बन्धित पक्षले त्यसको उचित व्यवस्थापन गरोस् ।