यूकेमा बसेर पनि नेपाली फिल्म निर्माणमा सक्रिय रहेका एक निर्माता हुन् निकेश लिम्बु । पहिलो पटक निर्देशक मिलन चाम्ससँग मिलेर उनले फिल्म ‘हँसिया’ निर्माण गरे ।
यसपछि निर्देशक सुरज सुब्बा नाल्बोको निर्देशनमा बनेको फिल्म ‘रातो घर’ पनि उनी निर्माताको रुपमा भित्रिए । हाल प्रदर्शनरत बायोपिक फिल्म ‘ब्लाइन्ड रक्स’ उनको तेस्रो प्रोजेक्ट हो ।
यूकेमा दर्ता भएको निकेशको आफ्नै प्रोडक्शन कम्पनी ‘एण्ड फिल्मस् एण्ड क्रियशन’ बाट अब प्रत्येक वर्ष एक ब्यवसायिक फिल्म निर्माण हुने भएको छ । आइतवार पुनः यूके फर्किन लागेका उनले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै यस विषयमा जानकारी दिए ।
निकेश भन्छन्, ‘केही फिल्म पाइप लाइनमा छ । अहिले म त्यसैको होमवर्क गरिरहेको छु । सम्पूर्ण तयारी पूरा भएपछि फिल्मको नाम घोषणा गर्नेछु ।’ उनले अपेक्षा गरे झैँ ‘ब्लाइन्ड रक्स’ ले दर्शकको साथ नपाएको पनि खुलाए ।
उनी भन्छन्, ‘यो फिल्म ब्यवसायिक रुपमा भन्दा पनि समाजलाई केही दिऊँ भन्ने सोचका साथ निर्माण गरेको थिएँ । फिल्मबाट म आफू भने खुसी छु ।’
उनी नेपालबाट नभए पनि आफ्नो लगानी विदेश प्रदर्शनबाट सुरक्षित हुनेमा विश्वस्त देखिन्छन् । उनका अनुसार, सिंगापुर, अष्ट्रेलिया, अमेरिकालगायतका देशमा फिल्म ‘ब्लाइन्ड रक्स’ प्रदर्शनको तरखरमा छ ।
‘म अहिलेसम्मको अवस्थामा विदेशबाटै ६० प्रतिशत सुरक्षित भइसकेको छु ।’, निकेश अगाडि भन्छन्, ‘यो फिल्म मैले नाफा कमाउनका लागि भने निर्माण गरेको होइनँ ।’
मिलन चाम्स निर्देशित फिल्म ‘ब्लाइन्ड रक्स’ मा वेनिशा हमाल, गौरी मल्ल, अर्पण थापा लगायतका कलाकारहरुको प्रमुख भूमिका छ । दृष्टिविहीन यूवती सृष्टि केसीको जीवनमा आधारित फिल्म हो यो ।