विराटनगर/ १ नम्बर प्रदेशमा प्रदेश सरकारले चालू आर्थिक वर्षको लागि चैत १५ गतेसम्म बजेट ल्याउने तयारी गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय विराटनगरमा आइतबार बसेको तेस्रो मन्त्रीपरिषद बैठकले चालु आर्थिक बर्षको लागि बजेट ल्याउने निर्णाय गरेको हो ।

मन्त्रीपरिषदको बैठकले बजेटसहित विभिन्न पाँच बुद्धे गरेको निर्णय सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिए । ‘चालु आर्थिक वर्षको लागि चैत १५ गतेसम्म आवश्यक बजेट ल्याउनेछौं,’ मन्त्री कार्कीले भने, ‘यो ल्याएको बजेटले असार मसान्तसम्म काम गर्नेछ । असार १ गते प्रदेश सरकारकाले पूर्ण बजेट ल्याउनेछ ।’

बैठकले सरकारले आगामी सय दिनमा गर्ने कामको सुची पनि सार्वजनिक गर्ने निर्णय गरेको छ । सय दिनमा सरकारले गर्ने कामको सुची फागुन २२ गते ३ बजे मुख्यमन्त्रीको सभा हलमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने निर्णय भएको मन्त्री कार्कीले जानकारी दिए ।

बैठकले प्रदेशभरी लागू हुनेगरी २०७५ सालको आन्तरिक क्यालेण्डर (भित्तेपात्रो) पनि निर्माण गर्ने भएको छ । प्रदेशका सार्वजनिक विदाको यकिन गर्न क्यालेन्ट निमार्ण गर्न समिति समेत गठन भएको छ । ‘एउटा प्रदेशमा दिनुपर्ने विदा अर्को प्रदेशमा नदिनुपर्ने अवस्था समेत हुन्छ,’ मन्त्री कार्कीले भने, ‘यही अनुरुप प्रदेश १ ले क्यालेण्डर निमार्ण गर्नको लागि समित बनाएका छौं । यस समितिले चाँडै कामको थालनी गर्नेछ ।’ आन्तरिक क्यालेण्डर निर्माण गर्नको लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिबको संयोजकत्वमा मन्त्रीपरिषद कार्यालयका उपसचिब, सामाजिक विकास मन्त्रालयका उपसचिब र एक पञ्चांग विज्ञ रहनेगरी समिति क्यालेण्डर निर्माण सुझाब समिति निर्माण गरिएको सरकारका प्रवक्ता कार्कीले जानकारी दिए ।

सोही बैठकले विराटनगर–धरान सडक सुधार आयोजना तथा प्रदेशका अन्य महत्वपूर्ण विकासका कामको अनुगमन गर्न आन्तरिक मामिला तथा कानुनमन्त्रीको संयोजकत्वमा पाँच सदस्य अनुगमन समिति गठन भएको छ । त्यस समितिमा आर्थिक मामिला तथा योजना मन्त्री, सामाजिक विकास मन्त्री, वन, वातावरण तथा पर्यटन मन्त्री र मुख्यमन्त्रीको कार्यालयको प्रशासन प्रमुख रहनेगरी समिति निर्माण गरिएको छ ।

प्रदेश सरकार गठन भएपछि प्रदेशको आर्थिक कार्यविधि विधेयक २०७४ तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णयसमेत गरेको छ । त्यस्तै प्रदेशको मन्त्रीपरिषदको बैठक प्रत्येक साताको बिहीबार मुख्यमन्त्रीको कार्यालयमा बस्ने औपचारीक निर्णाय भएको मन्त्री कार्कीले जानकारी दिए ।

मन्त्रीपरिषदको बैठकले गरेको निर्णाय जानकारी दिदै कार्कीले प्रदेशको नामाकरण र राजधानीको विषयमा अनौपचारिक छलफल सुरु भएको बताए । उनले प्रदेशको नाम र स्थाही राजधानीको लागि छिटोभन्दा छिटो टुंगोमा पुग्ने सरकारको तयारी रहेको उनको भनाई थियो । ‘अहिले सानो आकारमा मन्त्रीमण्डल विस्तार भएको छ,’ उनले भने, ‘भने प्रदेश सरकारकाले समेत चाँडै पूर्णता पाउनेछ । ’