मोरङ/ विभिन्नखाले रोगको जोखिमको अवस्था रहेको मोरङको पथरीशनिश्चरेमा कुष्ठरोगको पनि जोखिम देखिएको छ ।
नेदरल्याण्ड लेप्रोसी रिलिफ र नेपाल लेप्रोसी फेलोशिपको सहयोगमा नगरपालिकाको स्वास्थ्य समितिले जनप्रतिनिधि र स्वास्थ्य फोकल पर्सनका लागि आयोजना गरेको कुष्ठरोग रोकथाम सम्बन्धी पुनर्ताजगी कार्यक्रममा सो कुरा प्रष्टिएको हो ।
आइतवारको सो कार्यक्रममा सहजिकरण गर्दै नगरपालिकाका स्वास्थ्य संयोजक मुरारी आचार्यले पथरीशनिश्चरे नगरपालिकामा २१ पुरुष र ११ महिला गरी ३२ जना नयाँ कुष्ठरोगी फेला परेको जनाए । उनले नगरको पथरीमा १०, शनिश्चरेमा १५ र हसन्दह क्षेत्रमा ७ जना नयाँ कुष्ठरोगी फेला परेको उल्लेख गरे ।
ती रोगीहरुको सम्पर्कमा रहेका छरछिमेकका २ सय ६२ पुरुष र ३ सय ४२ महिला गरी ६ सय ४ जनालाई समेत औषधि खुवाइएको वताए । पथरी क्षेत्रमा मात्रै पुराना रोगीको संख्या ६ रहेको छ । यसका रोगीले ६ महिनादेखि १ वर्षसम्म नियमित औषधि खानुपर्ने हुन्छ ।
नेदरल्याण्ड लेप्रोसी रिलिफकी सिर्जना अधिकारीले स्वासप्रश्वास र र्याल खकारबाट सर्ने कुष्ठरोगबाट अंगभंग हुन नपाउँदै निममित औषधि सेवन गरी निको हुने जनाउँदै नगरपालिकाले यसको प्रभावकारी रोकथामका लागि कार्यक्रम वनाएर जानुपर्ने वताइन् । नेपाल लेप्रोसी फेलोशिपका एन्डियस मगरले पनि विश्वको ६८ प्रतिशत कुष्ठरोगी भारतमा रहेकाले खुला सीमा रहेको छिमेकी देश नेपालमा यसको जोखिम वढी नै रहेको जनाए ।
कार्यक्रममा, नगर प्रमुख दीलिपकुमार राईले नगरमा कुष्ठरोग, जापानिज इन्सेफ्लाइटिस, मेनेन्जाइटिस, हात्तीपाइले, डेंगु, भाइरल ज्वरो लगायतका फोहोरजन्य अवस्थाका कारण सवैजसो रोगको संक्रमणको अवस्था रहेको जनाए । उनले कुष्ठरोग सहितका सवैखाले रोग निर्मुल पार्ने एकमुष्ठ योजना तयार पारेर कार्यन्वयन गर्न आवश्यक रहेको उल्लेख गरे ।