धरान/ तपाईंलाई भाइबर वा मोबाइल नम्बरमै ‘कौन बनेगा करोडपति’का नाममा कल त आउँदैन ? आउँछ भने ख्याल गर्नुहोस् । तपार्इंले त्यो कलमा भनेजस्तै गर्दै जानुभयो भने ठूलै ठगीमा पर्न सक्नुहुन्छ । किनभने पछिल्लो समय नेपालमा भाइबर र फेसबुकबाट चिठ्ठा परेको छ भन्दै ठगी बढ्दो क्रममा छ ।

यतिमात्रै होइन, चिठ्ठा परेको छ, उपहार परेको छ भन्दै भारतको पञ्जाव नेशनल बैंकको नाममा पनि फेक कल गरेर ठग्ने गिरोह नै सक्रिय छ । अपराध महाशाखा काठमाडौंका एसएसपी दिवश लोहनी सामाजिक सञ्जाल र विभिन्न फेक कलबाट ठगिने क्रम बढेको बताउँछन् । अझ ठगीमा नेपाली नै संग्लन भएको प्रहरी अनुसन्धानले देखाएको छ ।

चिट्ठा ठगीमा अपराध महाशाखामा निवेदन दिन आउने र आएका उजुरीअनुसार भारत र पाकिस्तानबाट विजय कुमार, आकाश बर्मा, राणा प्रताप सिंह, दुवईबाट मिष्टर सिंहानियाजस्ता काल्पनिक नाम बताई विभिन्न वहाना गरी पीडितको नामको चेक तथा चिट्ठा रसिद डिजाइन गरी इमो तथा भाइबरमा पठाएर विश्वासमा पारी ठगी हुँदै आएको छ ।

फेसबुकको दोस्तीले सुजाताको ५५ लाख डुब्यो  फेसबुकमा सुरुमा त्यो गिरोहले साथी बनाउँछ । मित्रता गहिरो र विश्वासिलो बनाउन अनेक प्रकारका विश्वासी फण्डा अपनाइन्छ । पछिल्लो १ वर्षमा फेसबुकबाट ठगिको सबैभन्दा ठूलो घटना हो, सुजाता केसीको । सुजातालाई युनास स्मीथको नामबाट फेसबुकमा फ्रेन्ड रिक्वेस्ट आयो । स्मीथले आफूलाई बेलायती नागरिक भएको बताए ।  त्यसपछि भारतीय नम्बरबाट सुजातालाई कल आयो । उनलाई अमेरिकाको दिल्ली शाखाबाट १.७ मिलियन डलर सुजाताको नाममा आएको बताइयो ।

तर, त्यो रकमको कर तिर्नुपर्ने भारतीय टेलिफोनकर्ताले बताए । टेलिफोनमा सुजातालाई जगदिश आचार्य, पुरन घर्तिमगरको खाताबाट र राम कुमार शेर्पा, सञ्जिव महर्जनसमेतको नामबाट आइएमइ गरेमा आफूले करबापतको रकम प्राप्त गर्न सक्ने बताइयो । सुजाताले आइएमइबाट  ५५ लाख ८५ रुपैयाँ हजार पठाइन् ।

केही समयपछि केही अत्तोपत्तो नलागेपछि उनले आफू ठगिएको चाल पाइन् । अपराध महाशाखाको टोलीले त्यही घटनामा संग्लनताको आरोपमा पुरन घर्तिमगर, रवि थोकर र दिनेश बस्नेतलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाइसकेको छ । यसरी ठगिएकाहरु पछिल्लो समय दैनिकजसो अपराध महाशाखा काठमाडौंमा आउने गरेका छन् ।

एनसेलको नाममा पनि ठगी गत पुस ६ गते अछाम स्थायी घर भएका २७ वर्षका राजेन्द्र बहादुर कठायत पक्राउ परे । कीर्तिपुरमा डेरा गरेर बस्ने एक महिलालाई उनले फेसबुकबाट ठगेका थिए । उनले सर्लाहीकी एक महिलालाई इमोमा कल गरेर एनसेलको लक्की ड्रमा २५ लाख पुरस्कार परेको छ भन्दै बधाई दिए । उनले त्यो रकमको कर लाग्ने भन्दै आइएमइबाट २ लाख २५ हजार पठाउन आग्रह गरे र महिलाले पठाइन् । अनि उनी फरार !

यस्तै ठगिमा अछामकै २२ वर्षका वसन्त कठायत पनि पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई आवश्यक कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइसकेको छ । मुलुकी ऐन तथा ठगी महलअनुसार यस्तो कार्यमा संग्लन व्यक्तिलाई बिगो भराई ५ वर्षसम्म कैद  सजायको व्यवस्था छ ।

रुपन्देही र अर्धाखाँचीमा पनि ठगी सोमबारमात्रै जिल्ला प्रहरी कार्यलय रुपन्देहीले ठगीको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । चिट्ठा परेको भन्दै मनी ट्रान्सफरबाट रकम पठाउन लगाई ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । प्रहरीले रुपन्देही सियारी गाउँपालिका १ का अंगदकुमार यादव, लुम्बिनी सांस्कृतिक नगरपालिका १ का विराज भन्ने इवरार हुसेन शेष र मायादेवी गाउँपालिका ८ का राधेश्याम कोइरीलाई पक्राउ गरेको छ । उनीहरुले १५ जनाभन्दा बढीसँग २५ लाख रुपियाँ चिट्ठा परेको भन्दै रकम ठगी गरेका थिए ।

यस्तै अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका वार्ड नं. ७ का सुनिल परियार सामाजिक सञ्जाल इमोमार्फत् ठगिएका छन् । फागुन १० गते रोजगारको सिलसिलामा दुबईमा रहेका प्रताप रानाले सुनिल परियार नाम गरेका व्यक्तिलाई तपाईंलाई लट्री परेको छ भन्दै ईमोमार्फत जानकारी गराएका थिए । रानाले परियारलाई २५ लाख लट्री परेको छ भन्दै ठगेका थिए ।