विराटनगर / ललितपुर घरेलु कामदारको रुपमा कार्यरत मोरङको कटहरीगाउँपालिका – १ घर भएकी किशोरीको नियोजित रुपमा हत्या भएको भन्दै परिवारले दोषीलाई कार्वाहीको माग राख्दै विराटनगरमा प्रर्दशन गरेका छन्

कटहरी गाउँपालिका–१ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका–३ स्थित बिनय दाहालको घरमा काम गर्ने १७ वर्षीय आइसाकुमारी चौधरीको १७ फागुनमा दाहालकै घरमा झुण्डिएको अवस्थामा शव फेला परेको थियो ।

झुण्डिएको अवस्थमा फेला परेको शव नियोजित रुपमा हत्या गरिएको भन्दै पीडित परिवारले आइतबार विराटनगरमा मृतकको शव राखी दोषीलाई कारबाहीको माग राख्दै प्रदर्शनमा उत्रिएका हुन् । कटहरी गाउँपालिका १ देखी शवसहित निकालेको प्रदर्शन विराटनगरको महानगरपालिको विभिन्न ठाउँमा प्रदर्शन गरेका थिए ।

दाहालको घरमा एक वर्षदेखि घरेलु कामदारको रुपमा रहेकी आइसाको शव झुण्डिएको अवस्थाम सातदोबाटो प्रहरीले लगेर पोष्र्टमार्टम गराएको थियो । तर, उनको निधन भइसकेपनि परिवारलाई दाहालले जानकारी दिएनन् । कटहरीमा रहेका आफन्त र मृतककी आमा गुल्जार चौधरीलाई दाहालले ‘आइसाले सुन र पैसा चोरेले प्रहरीमा राखेको छ, भेट्न आउनु’ भन्दै काठमाडौं लगेका थिए ।

छोरी पक्राउ परेको सूचनापछि काठमाडौं गएकी गुल्जारलाई दाहाल परिवारले आइसाको शव जिम्मा लगाएर बाटोखर्च भन्दै २ हजार दिएर पठाएको थियो । दाहाल परिवारले शनिबार एम्बुलेन्सको भाडा २५ हजारसहित थप दुई हजार हातमा थमाएर चौधरीलाई विदा गरेको थियो । चौधरी छोरीको शव बोकेको एम्बुलेन्सहित आइतबार विराटनगर आइपुगेकी हुन् ।

प्रहरीले आफन्त नपुग्दै घटनास्थलबाट शव लैजानु र आफन्तलाई झुक्याएर काठमाडौं लैजानुलाई रहश्यमय रुपमा हेरिएको छ । प्रहरीसँगको पहुँचको कारण दाहाल परिवारले घटनालाई ढाकछोप गर्न खोजेको आशंका गरिएको छ । सातदोबाटो प्रहरीका प्रमुख प्रहरी नायव उपरीक्षक बिनोद सिलवालले भने आफन्त आउन ढिला गरेका कारण शव झिकेर पोष्टमार्टमका लागि पठाएको बताए ।

छोरी हेर्न गएकी आमा शव लिएर फर्किएपछि आफन्त र छिमेकीहरु पनि चकित परेका छन् । अशिक्षित र अतिविपन्न चौधरी परिवारमा मुली अर्थात मृतकका बाबुको निधन भइसकेको छ भने १५ वर्षीया भाई र बहिनीसहित आमा गुल्जारले दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउँछन् ।

गाउँघरमा अति सोझी र इमान्दार आइसाले आत्माहत्या गरेको हुन नसक्ने स्थानीयको भनाइ छ । कटहरी गाउँपालिका–१ का वडाअध्यक्ष कपुरलाल माझीले झुक्याएर आमालाई मात्र काठमाडौं लानु, एम्बुलेन्समा शव राखेर पठाउनु तर दाहाल परिवारका कोही नआउनुले उनको हत्या भएको आशंका जन्माएको बताए ।

आइतबार विहान छोरीको शव लिएर आमा आएपछि स्थानीयले कोशी अञ्चल अस्पतालमा पुनःपोष्टमार्टमका लागि शव लिएर गएका थिए । तर, एक पटक पोष्टमार्टम भएको मृत शरिरको पुनः पोष्टमार्टम गर्न नमिल्ने भन्दै मोरङ प्रहरी उपरीक्षक अरुणकुमार बिसीले आफन्तलाई सम्झाउँदै दाहसंस्कार गर्न आग्रह गरेका थिए । आफन्तले भने शरिरभरी निलडाम रहेको भन्दै अस्वीकार गरेको छ ।

आइसाले काम गर्दै आएकोे घर ललितपुर महालक्ष्मी–३ निवासी लिना दाहालले घटनाबारे आपूmहरुलाई जानकारी नभएको भन्दै प्रहरीलाई सोध्न भनेकी छन् । परिवारलाई झुक्याएको नभई मृत्युको खबर गर्न नचाहेको उनको भनाइ छ ।

कारवाहीको माग राख्दै पीडित परिवारले शवसहित प्रर्दशन गर्दै ।