बिर्तामोड/ फुलबारी निर्माण गर्ने बिषयमा बिवाद हुँदा झापाको बिर्तामोडमा रहेको देवी माध्यमिक बिद्यालयका प्रधानाध्यापक सहितका ५ शिक्षकलाई बिद्यार्थीले दुइ घण्टा कार्यालयमा थुनेका छन् ।
अखिल क्रान्तिकारी समर्थित बिद्यार्थीले भवन अगाडी फुलबारी बनाउन शुरु गरेका थिए । तर, बिद्यालय प्रशासनले संगठित रुपमा फुलबारी बनाउन नपाउने भन्दै अवरोध गरेपछि उनीहरु आन्दोलित भएका हुन् । बिद्यार्थीले बिद्यालय प्रशासनसमक्ष संगठित हुन पाउनुपर्ने, बिद्यार्थीका बिभिन्न रचनात्मक क्रियाकलाव सञ्चालन गर्न पाउनुपर्ने माग राखेका थिए । यसैगरी छात्रवृतिको बिवरण सार्वजनिक गर्नुपर्ने र पारदर्शी रुपमा छात्रवृति प्रदान गर्नुपर्ने, बिद्यार्थीको चाप अनुसारको कक्षाकोठा, शौचालय, पिउने पानी र कक्षाकोठामा पङखाको ब्यवस्था गर्न माग गर्दै क्रान्तिकारीले ज्ञापनपत्र बुझाएको थियो ।
समयसिमा तोकेर माग राखिएको भएपनि बिद्यालय प्रशासनले बेवास्ता गरेपछि आन्दोलनस्वरुप प्रधानाध्यापकको कार्यकक्षमा तालाबन्दी गरिएको हो । तालाबन्दी अघि प्रधानाध्यापक सहितका ५ जना शिक्षकले बाहिर निस्किन अटेर गरेपछि उनीहरुलाई समेत भित्रै थुनेर ताला लगाइएको अखिल क्रान्तिकारी जिल्ला उपाध्यक्ष अनिल सुवेदीले जानकारी दिए । बिहान ८ बजेदेखि थुनिएका प्रधानाध्यापक सहितका शिक्षकलाई १० बजे बिर्तामोड प्रहरीको समन्वयमा बाहिर निकालिएको थियो ।
प्रधानाध्यापक तथा शिक्षक बाहिर निस्किएपछी बिद्यार्थीले फेरी प्रधानाध्यापकको कार्यकक्षमा अनिश्चितकालिन तालाबन्धी गरेका छन् । उनीहरुले आफ्ना माग पुरा नभएसम्म बिद्यालय प्रशासनमा लगाएको ताला नखोल्ने चेतावनी दिएका छन् ।
यसैबीच अखिल क्रान्तिकारीको देवी मावीमा भएको आन्दोलनमा नेविसंघ र अनेरास्ववियुले समेत ऐक्यबद्धता जनाउदै आन्दोलनमा सहभागि भएका छन् । नेवीसंघका क्षेत्रीय सभापति पोषराज कटवाल र अनेरास्ववियु बिर्तामोड नगर अध्यक्ष सन्दीप थपलियाले बिज्ञप्ति जारी गर्दै आन्दोलनमा ऐक्यबद्धता जनाउँदै सहभागि हुने निर्णय गरेका हुन् ।