नेकपा एमालेका पुराना नेता तथा मोरङ क्षेत्र नं. १ बाट विजयी सांसद घनश्याम खतिवडा राजनीतिलाई सेवाका रूपमा लिने धारण राख्छन् । खतिवडा अहिले राजनीति व्यवसाय भएकोमा चिन्तित देखिन्छन् । मदन भण्डारीदेखि अहिलेका केपी ओलीसँग काम गरेको अनुभव उनीसँग छ । यही समसामयिक विषयमा कृष्ण गिरीले गरेको कुराकानी ।

कम्युनिस्ट आन्दोलनमा कहिलेबाट लाग्नुभयो ?  म सानै उमेरबाट कम्युनिस्ट आन्दोनलमा जोडिएको हुँ । २०३३ सालमा ताप्लेजुङमा अखिल नेपाल कोर्डिनेसन केन्द्रका चिठ्ठी पत्र बोकेर राजनीति सुरु गरेको हुँ । कार्डिनेसन केन्द्र झापा आन्दोलनमा जेल परेकाहरू बाहिर आएपछि बनाएको रहेछ । त्यो समयका नेताहरू हरि नेपाल, सन्तोष खतिवडा, पुण्य खरेलहरूले चिठ्ठी पत्र बोकाएर काम गराए । मैले त्यो समयमा बाल रेड गार्ड भएर काम गरेँ । त्यहीँबाट सुरु भएको राजनीति मोरङमा क्याम्पस पढ्दा पनि जारी रह्यो । विद्यार्थी हुँदा मोरङको जिल्ला कमिटी सदस्य भएँ ।

२०३७ सालमा पहिलो पटक मदन भण्डारीसँग भेट भयो । तर मैले भेट्दा मदन भण्डारी होइन सागरको नामले चिनेको हुँ । त्यही समयबाट मदनसँग काम गरेँ । लेटाङ गाउँ कमिटीको सचिव भएँ । त्यसपछि पार्टीको जिल्ला कमिटी सदस्य भएँ । उत्तरी मोरङ इलाका कमिटीकोे सचिव भएँ । सुरेन्द्र पाण्डे, गुरु बराल जिल्ला कमिटीमा हुँदा म पनि जिल्ला कमिटीको सदस्य थिएँ ।

तर अहिलेसम्म मैले काम गरेका नेतामध्ये मदन भण्डारीको जस्तो दूरद्रष्टा, सङ्गठक, कार्यकर्ताको संरक्षण गर्ने एमालेमा कोही छैनन् ।

मदन भण्डारीसँग पहिलो पटक कसरी भेट भयो ? मदन भण्डारी काम गर्ने सिलसिलामा मोरङ आउनुभयो । उहाँ पार्टीको काममा आउँदा मेरो घर सेल्टर थियो उहाँको । त्यही भएर अहिले पनि चित्रमा मदन भण्डारी भन्ने पुस्तकमा हामीलेसँगै काम गरेका, मिटिङ बैठकका फोटाहरू छन् । २०४२ सालमा मदनको सल्लाहमा मैले शिक्षकको नोकरी छोडेर लेटाङ गाउँ पञ्चायतमा जनपक्षीय प्रधानपञ्चमा लडेँ । त्यो समयमा ९ भोटले हारेँ । त्यसपछि मलाई प्रशासनले दुःख दिन थाल्यो । जेल हाल्न थाल्यो । जनआन्दोलन सफल हुँदा म जेलमा थिएँ । म २०४६ साल चैत २७ गते छुटेको हुँ ।

त्यसपछि २०४९ मा गाविसको अध्यक्षमा जितेँ। पाँच वर्ष स्थानीय तहमा काम गरेँ । त्यही समयबाट म देशभरीका गाविसको महासङ्घको अध्यक्ष हुँ । अहिले त्यो परिवर्तन भएर गाउँपालिका महासङ्घ बनेको छ । यसको अध्यक्ष म नै हो ।

तपाईं पुरानो राजनीतिक कार्यकर्ता हुनुहुन्छ, अहिलेको राजनीति र पहिलेको राजनीतिमा के भिन्नता पाउनु हुन्छ ? धेरै भिन्नता छ तर परिस्थितिले पनि भिन्न ठाउँमा पुर्याएको छ । विज्ञान प्रविधिले पनि फरक ठाउँमा पुर्याएको हो । हिजो हामी पञ्चायतविरुद्ध, राजतन्त्रविरुद्ध लड्नु पथ्र्यौ । तर अहिले ती चीज अस्तित्वमा नै रहेनन् ।

राजनीति भनेको समय परिस्थितिअनुसार चल्नु पर्ने हो । हिजोको सैद्धान्तिक मूल्यमान्यता, विचारहरू पुरानै शैलीले चल्न सक्दैनन् । जीवन शैलीमा पनि आमूल परिवर्तन आएको छ । सामाजिक आर्थिक रूपमा पनि हिजोको भन्दा फरक ठाउँमा आएका छौं । हिजो विज्ञान प्रविधि यति विकास भएको थिएन । हिजोको जस्तै आज खोजेर पाइँदैन । राजनीति सिद्धान्तअनुसार चल्ने हो । तर यो जीवनका लागि हो । यसकारण परिवर्तन हुन आवश्यक छ ।

हिजो नेता कार्यकर्ता राजनीतिक विचार, सिद्धान्तमा चल्थे । अहिले नेताके पछाडि लाग्ने प्रवृत्ति बढेको छ । नेता समाते हुन्छ । सङ्गठन विचार नभए पनि हुन्छ भन्ने प्रवृत्ति बढेको छ ।

समय फेरिए पनि कम्युनिस्ट कार्यकर्तामा स्खलन आएको देख्नुहुन्छ कि देख्नुहुन्न ? अवश्य आएको छ । यसमा कुनै दुई मत छैन । तर यो सुधार्नै नसकिने गरी होइन । सैद्धान्तिक रूपमा विचलन आएको छ । यसलाई सुधार्दै जानु पर्छ । कम्युनिस्ट पार्टीका कार्यकर्ता बीउ हुन् । जनता माटो हुनु । कार्यकर्ताले माटोमा उम्रने क्षमता राख्नुपर्छ । यो भएन भने उसको अस्तित्व सकिन्छ ।

राजनीति पेसा होइन । यो मान्यता स्थापित भएमा राजनीति आफैमा सुधे्रर जान्छ । यो पेसा नभएर सेवा हो भन्ने मान्यता स्थापित भयो भने राजनीति निष्ठा, त्याग तपस्या र विचारमा चल्छ । राजनीतिलाई कमाउने भाँडो बनाउनु हुँदैन ।

यस्तो भयो भने झोलामा पैसा बोकेर टिकट माग्न जाने प्रवृत्ति पनि अन्त्य हुन्छ । समाजका लागि जीवन दिनेले समाज सेवा नै मान्नुपर्छ । विचारभन्दा पनि हाइ हुट्ट गर्ने नेताहुने प्रवृत्ति बढ्नु भनेको नै स्खलन हुनु हो । हिजोका आदर्श अहिले छायाँमा परेका छन् । तर राजनीति विचार, आदर्श, सिद्धान्तमा चल्ने कुरा हो । यो भएन भने हाइ हुट्ट क्षणिक हुन्छ । कम्युनिस्ट नेता कार्यकर्ताले विचारमा निष्ठावान, सिद्धान्तमा प्रबल हुनुपर्छ । यो भएन भने स्खल हो । अहिले स्खलन आएको नेता कार्यकर्तामा ।

अहिले नेपालको राजनीति अझ कम्युनिस्ट राजनीति कस्तो देख्नु हुन्छ ?  कहीँकहीँ बिग्रेको छ । तर नेताहरूलाई गाली गरेर सुध्रँदैन । नेताहरूमा अहिले पनि त्याग तपस्या र निष्ठा छ । हिजोको कार्यकर्ताहरूले अहिले कम्युनिस्टको नेतृत्व गर्नुभएको छ । उहाँहरूले त्याग तपस्या गरेर नेतृत्वमा पुग्नुभएको हो । नेतृत्व त्यतिकै स्थापित हुँदैन । यसकारण अहिलेको नेतृत्व केपी ओली र प्रचण्डले केहीँ सुधार्नु पर्ने कुरा भए पनि उहाँहरूले त्याग तपस्या गरेर यो मुलुक यहाँसम्म पुर्याउनु भएको हो । केही कमी कमजोरी हामी सबैले सच्याएर कम्युनिस्ट आचरमा चल्नुपर्छ ।

दुई पार्टीबीचको एकताको भविष्य कस्तो देख्नु हुन्छ ? पार्टीभित्र विभिन्न पावर सेन्टर बनाउने प्रवृत्ति अब हट्नुपर्छ । यो प्रवृत्ति एमाले र माओवादीमा छ । अब यो हट्नुपर्छ । यसको लागि दुवै पार्टीका नेतृत्वले पहल गर्नुपर्छ । संविधानमा नै लेखेको छ अबको युग समाजवादी युग हो भनेर । अब यसका लागि नै नेपालको राजनीति चल्नुपर्छ । अब आम नागरिकले यो पार्टी जनताको पार्टी, गरिबको पार्टी हो भनेर काम गरेर विश्वास दिलाउनुपर्छ । यदि अबको सरकारले काम गर्यो भने यो पार्टी झन् बलियो हुन्छ ।

पार्टी भनेको नेतृत्व, कार्यकर्ता र जनताबीचको सम्बन्धमा टिकेको हुन्छ । यसका लागि जनताको भाग्य र भविश्यका लागि काम गर्नुपर्छ । जनपक्षीय काम गरे पार्टी मजबुत हुने छ । अनि कसैले चाहेर पनि अलग हुन सक्दैनन् ।

अबको समाजवादी राज्यका लागि नेतृत्वले के–के काम गर्नुपर्छ ?

अब हामीले समाजवादी राज्यव्यवस्था ल्याउनुपर्छ । यसका लागि मेरो विचारमा ५ वटा ‘टी’को नीतिमा अगाडि बढ्नुपर्छ ।  सधैँ जङ्गबहादुरको इतिहास मात्र पढाएर हुँदैन । अब टेक्नोलोजीको शिक्षा दिनु पर्छ । यसका लागि ७ सय ५३ स्थानमा नै टेक्नोलोजी शिक्षाहरू खोल्नु आवश्यक छ । यसका लागि सबैले पहल गर्नुपर्छ । कृषिको आधुनिकीकरणका लागि चाहिने जनशक्ति चाहिन्छ । टुरिजम नेपालले सबैभन्दा छिटो विकास गर्न सक्ने भनेको पर्यटकीय क्षेत्रमा हो । सबैभन्दा बढी जनसङ्ख्या भएका दुई देशमा हामी छौँ । यी दुवै देशको धर्म भिन्न भिन्न छ । त्यसको सेन्टर नेपाल हुन्छ । चीनबाट बौद्ध धर्मावलम्बी ल्याउन सकिन्छ । लुम्बिनी लगायत ठाउँ घुमाउन सकिन्छन् । भारतबाट हिन्दु पर्यटक भित्र्याएर पशुपति लगायत धार्मिक क्षेत्रमा घुमाउन सक्छौँ । यो मात्र होइन हिमाल छन्, माउन्टेन पर्यटक पनि नेपाल ल्याउन सकिन्छन् ।

टिम्बर : टिम्बरको सम्भावना नेपालमा छ । यहाँ रूख रोपेको १५ वर्षमा तयार हुन्छ । यति छिटो उत्पादन हुने जलवायु छ । यसको बजार पनि छ । यसबाट पनि समृद्धिमा टेवा पुग्छ ।

चिया : नेपालमा चिया उत्पादन धेरै छ । यसबाट हामी समृद्धिमा जान सक्छाैँ । यसको अन्तर्राष्ट्रिय बजारमा पुर्याउन सक्नुपर्छ । यसको व्यवसायीकरण गरेर जानुपर्छ । इलाम, झापा लगायतका चिया बगानको आधुनिकीकरण गरे अझै व्यवसायीकरण गरेर जानुपर्छ ।

टेक्नोलोजी : अब सधैँ जङ्गबहादुरको इतिहास मात्र पढाएर हुँदैन । अब टेक्नोलोजीको शिक्षा दिनु पर्छ । यसका लागि ७ सय ५३ स्थानमा नै टेक्नोलोजी शिक्षाहरू खोल्नु आवश्यक छ । यसका लागि सबैले पहल गर्नुपर्छ । कृषिको आधुनिकीकरणका लागि चाहिने जनशक्ति चाहिन्छ ।

टिम बर्क : अब एक्लै काम गरेर हुँदैन । कुनै गु्रप बनाएर काम गर्नुपर्छ । लागनीको हिसाबले पनि यो मोडेल उपयुक्त छ । सङ्गठनलाई पनि अब उत्पादनमा लगाउनुपर्छ । अब ठेक्का पट्टामा कार्यकर्ताहरूलाई लगाउनु हुँदैन ।

नेपालमा समाजवादका आधारहरू के–के हुन् ? उत्पादन गरेका चीजले निर्यातमा कति टेवा दिएको छ, त्यो हेर्नुपर्छ । हामीले गर्ने निर्यात प्रवद्र्धनमा कति टेवा दिन्छ । आयातमा कति परनिर्भर छौं । यसको पूरा लेखाजोखा हुनुपर्छ । आउने चीजलाई रोकेर यही उत्पादन गर्ने । निर्यात गर्ने कुरा बढी उत्पादन गर्नुपर्छ । सुरुको चरणमा यसलाई महत्वका साथ लागू गर्यौँ भने मात्र समाजवादमा जान सकिन्छ । अहिले नेपाली बजारमा आउने तरकारी, खाद्यन्नलागायतका वस्तुहरू यहीँ उत्पादन गर्नुपर्छ । यसले तरकारी खाद्यन्नमा आत्मनिर्भर भयौँ भने धेरै पैसा यहीँ बच्छ । यो बन्दै गएमा हामी केही वर्षमा उत्पादनमा आत्मनिर्भर बन्छौँ । उद्योगधन्दा खाल्दै जानुपर्छ ।

यो सरकारले पाँच वर्षमा नेपाली जनताको जीवन स्तरमा केही परिवर्तन ल्याउँछ भन्ने केही आधार छन् ?

अब हामीले या कारणले काम गर्न पाएनौँ भन्ने छुट छैन । अब नेतृत्वले यो कामको नेतृत्व लिनैपर्छ । यो देशमा विकासका लागि नयाँ ढोका खोल्नुपर्छ । हामीसँग स्रोत साधन छ । यसका लागि नेतृत्व चाहिएको छ । सुशासन चाहिन्छ । यसका लागि पहलकदमी लिनुपर्छ । राजनीतिक अन्यौलता सकिएको छ । राजनीतिले दिशा लिएपछि विकासको यात्रा सहज हुन्छ । केही नीति र विधि बनाएर राज्यलाई अगाडि बढाउने हो भने समृद्धि टाढा छैन ।

यो सरकारले २ वर्षमा गर्नैपर्ने काम के–के हुन् ? साँच्चै विकास र समृद्धिमा जाने हो भने आम मानिसलाई गरिखाने बाटो देखाउनुपर्छ । परिवर्तन नै गर्नका लागि प्रविधि दिनुपर्छ । कृषिको आधुनिकीकरण । निर्वाहमुखीभन्दा व्यवसायमुखी बनाउनुपर्छ । रोजगारका आधारभूत कुराको बाटोतर्फ जानुपर्छ ।

कृषि प्रधानदेश भन्ने तर जमिन बाँझो राख्ने प्रवृतिले समृद्धितर्फ जान सकिन्छ ? जमिनमाथिको जनताको अधिकार हुनु हुँदैन । साँच्चैमा कम्युनिस्ट राज्य स्थापना गर्ने हो भने यो काम गर्नु नै पर्छ । जमिनमाथि जनताको स्वामित्व हुनु हँुदैन । यस्तो काम गरेमा मानिस व्यवसायी हुन्छ । एक जन शिक्षकले २ वटा भैँसी पाल्छ । एउटा टुकटुके मिल राख्छ । १ बिघामा खेती पनि गर्छ । अब भन्नुहोस् उहाँ शिक्षक हो कि, भैँसी पालक हो कि, मिल मालिक हुन् कि कृषक हुन् । उहाँले न शिक्षक पेसा राम्रारी गर्नु भएको छ, न भैँसी राम्रारी पाल्नु भएको छ । न त किसान नै बन्नु भएको छ । यसकारण जसको क्षमता ज्ञान जेमा छ त्यही काम गराउनुपर्छ । यसका लागि जमिनमाथिको व्यक्तिगत स्वामित्वको अन्त्य हुनु नै पर्छ ।

रातोपाटी