काठमाण्डौ/युवा स्टार अनमोल केसी अब चाँडै आफ्नो छैटौँ फिल्म ‘क्याप्टेन’ को सुटिङमा व्यस्त हुँदैछन् । यो फिल्ममा उनी फुटबल खेलाडीको भूमिकामा देखिँदैछन् । दीवाकर भट्टराईले निर्देशन गर्न लागेको फिल्ममा भुवन केसी निर्मातामा छन् । यस वर्ष रिलिज भएको ‘कृ’ बाट प्राप्त सुखद प्रतिक्रियाबाट उत्साहित देखिएका अनमोलले अब यसको सिक्वेलमा काम गर्ने लगभग पक्का भएको छ । उनले ‘क्याप्टेन’ पछि यो फिल्मको काममा व्यस्त हुने निर्माण टिमलाई वचन दिएका छन् ।

केही दिन अगाडि ‘कृ’ प्रदर्शनका लागि जापान उड्ने क्रममा निर्माता सुवास गिरी र अनमोलवीच यस विषयमा मौखिक कुराकानी भएको हो । कागजी सम्झौता भने चाँडै हुनेछ । फिल्मीखबर डटकमसँग कुराकानी गर्दै निर्माता गिरीले भने, ‘हामीले ‘कृ’ को कथा सिक्वेल निर्माण गर्ने गरि नै छाडेका थियौं । अनमोल फेरि ‘कृ २’ मा दोहोरिने छन् । अरु सबै नयाँ हुन सक्छन् ।’ वर्ष २०७६ मा फिल्म रिलिज गर्ने तयारीमा निर्माता गिरी छन् । उक्त फिल्मको अधिकांश छायांकन यूकेमा हुनेछ । खबरअनुसार, ‘कृ’ जहाँबाट अन्त्य भएको थियो, सिक्वेलको कथा त्यहीबाट अगाडि बढ्नेछ । फिल्ममा सुवास गिरीको मात्र लगानी रहनेछ । ‘कृ’ का निर्देशक सुरेन्द्र पौडेलले सिक्वेल निर्देशन गर्ने सम्भावना निकै न्यून रहेको स्रोत बताउँछ ।