मोरङ/ जापानमा भिजिटिङ प्रोफेसरका रुपमा कार्यरत नेपालको राष्ट्यि योजना आयोगका पूर्व सदस्य डाक्टर शिवकुमार राईले मोरङको पथरीशनिश्चरे नगर क्षेत्रको विकासको सम्भावना प्रचुर रहेको जनाउँदै योजनावद्ध काम अगाडि बढाउन आफुले पनि सहयोग पुर्याउने बताएका छन् ।

डाक्टर राईले नगरपालिका कार्यालयले शनिवार आयोजना गरेको नगर क्षेत्रको वस्तुगत अवस्थाको स्थलगत अनुगमनपछि नगरको प्रगतिको सम्भावनाबाट लोभिदै सो कुरा वताएका हुन् । ‘यहाँ के रैन रछ र ? हरियाली वनको तरेली, सिमसार, वन्यजन्तु, कृषि सहितका हरेक पक्षले यो नेपालकै उत्कृष्ठ नगरपालिका वन्ने प्रचुर सम्भावना छ ।’– उनले भने ‘यी सम्भावनालाई दीगो विकासको योजनाका रुपमा जोडेर लानु पर्छ, यसमा मैले सकेको सहयोग मेरो ठाउँबाट गर्नेछु ।’

नगर प्रमुख दीलिपकुमार राईको अगुवाईमा वडाध्यक्ष, सदस्य सहितको टोलीले उहाँलाई पूर्वपश्चिम मुख्यसडकसँग जोडिएको वन, सिमसारका साथै पथरी, शनिश्चरे, हसन्दह क्षेत्रको कृषि, स्वास्थ्य, शिक्षा सहितको समग्र अवस्थाको बारेमा स्थलगत जानकारी गराएको छ ।

सो अवसरमा बोल्दै नगरप्रमुख राईले सम्भावनायुक्त सुन्दर नगरलाई विकासको गतिमा अगाडि बढाउन सहयोगी हातहरुको भनें आवश्यकता रहेको डा. राईलाई अवगत गराए ।

जापानको कुनै नगरपालिकासँग मितेरी सम्वन्ध कायम गर्न इच्छुक पथरीशनिश्चरे नगरपालिकाको वारेमा जानकारी गराउँदै सो सन्देश पुर्याउन डाक्टर राईलाई अवलोकन भ्रमणमा सामेल गराइएको हो । जापानबाट केही सिक्न र आपसी सहयोगमा नगरलाई समृद्ध वनाउने नगरपालिकाले सोच बनाएको छ ।

टोलीमा सहभागि अस्पतालका लागि जग्गा व्यवस्थापन समिति संयोजक वावुराम राईले योजना आयोग सदस्य भएको बेला डा. राईको पहलमा पथरीमा अस्पताल तथा पथरी वहुमुखी क्याम्पसका लागि जग्गा व्यवस्थापनमा सहयोग पुर्याएको जानकारी गराए । साथै उनले नगरको समग्र समृद्धिका लागि थप सहयोगको अपेक्षा नगरवासीले गरेको सुनाए ।