'ड्रिम्स' फिल्मबाट नेपाली रजतपटमा भित्रिएकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले संख्यात्मक हिसाबले धेरै फिल्म गरेकी छैनन् । यसै वर्ष उनी अभिनीत दोस्रो फिल्म 'ए मेरो हजुर २' रिलिज भएको थियो ।
लगातार आफू अभिनीत फिल्म बक्सअफिसमा हिट साबित हुँदा अहिले उनी 'डिमाण्डेड' अभिनेत्रीको लिस्टमा परेकी छिन् । उनकै कारण फिल्म हिट हुने आँकलन गर्ने गरिन्छ । यसैविच साम्राज्ञी अभिनीत तेस्रो फिल्म 'तिमीसँग' चैत २३ गतेबाट देशैभर प्रदर्शनमा आउँदैछ ।
शिशिर राणा निर्देशित यस फिल्ममा नाजिर हुसेन र आकाश श्रेष्ठको पनि प्रमुख भूमिका छ । प्रदेश दौडाहाको क्रममा शनिवार चितवन पुगेकी साम्राज्ञीले आफू भएकै कारण फिल्म हिट नहुने तर्क राख्छिन् ।
पत्रकारको एक प्रश्नमा उनले भनिन्, 'म भएकै कारण फिल्म हिट हुने भन्ने हुँदै होइन । सबैको काम राम्रो भए फिल्म सफल हुने हो । नाजिर र आकाश दुबैलाई 'तिमीसँग' ट्रेलर र गीतमा धेरै राम्रो कमेन्ट आएको छ । हामीले फिल्म एकदमै राम्रो बनाउने प्रयास गरेका छौं । हामी सबैको कारणले फिल्मले राम्रो रिजल्ट ल्याउँछ भन्नेमा विश्वस्त छौं ।'
उनले आफूलाई नाजिरसँग पहिलोदेखि नै काम गर्ने खुब इच्छा रहेको र त्यो 'तिमीसँग' बाट पूरा भएको बताइन् । उनी भन्छिन्, 'यो एउटा ट्राभल लभस्टोरी हो । ट्राभल गर्दा धेरै नयाँ मान्छेसँग भेट हुन्छ । त्यही विचको उचारचढावको कथा हो 'तिमीसँग' ।'
'कुनै दोहोरो अर्थ लाग्ने शब्द छैन । फिल्ममा प्रेम, रोमान्स, विछोड, हाँसो, रोदन, कमेडी सबै खुराक छ । कमेड भन्ने वितिक्कै अरुलाई होच्याएर, अरुको खुट्टा तानेर र गिज्याएर मान्छेलाई हँसाउने गरिन्छ । हाम्रोमा त्यस्तो छदैछैन । लभस्टोरी पनि शुद्ध लभस्टोरी छ ।' उनले भनिन् ।
अभिनेता नाजिरले फिल्ममा आफूले नवलपरासीको भरतराज मिश्र भन्ने एक युवकको भूमिका निर्वाहा गरेको बताए । उनी भन्छन्, 'तराईको फाँटदेखि पहाड हुँदै हामी हिमालसम्म पुगेका छौं । फिल्ममा तीन नयाँ यात्रीको कथा छ, जसलाई एकअर्काको विषयमा केही थाहा हुँदैन । विस्तारै चिनजान हुँदै प्रेम, विछोडको कथा फिल्मले वाचन गरेको छ । फिल्ममा स्ट्यान्डर कमेडी छ ।'
अर्का अभिनेता आकाश 'तिमीसँग' राम्रो फिल्म बनेको बताउँछन् । 'हामीले निकै मिहिनेत गरेर बनाएको फिल्म हो यो । दर्शकले हेरुन्जेल मनोरञ्जन लिनुहुन्छ ।' उनी भन्छन् ।
यस्तै, निर्देशक शिशिरले टेक्निसियन हुँदै कलाकारसम्मको सम्पूर्ण अनुभव मिसाएर आफूले परिवार सबैले हेर्न मिल्ने त्रिकोणात्मक फिल्म बनाएको बताए ।
फिल्ममा रोशन भट्टराईको एक्सन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी र सुशिल क्षेत्रीको छायांकन छ । शिशिर राणा, साकार ओझा, समुन्द्र उप्रेती र सुशिल क्षेत्रीको पटकथा फिल्ममा छ ।