युवा स्टार प्रदीप खड्का अभिनीत फिल्म ‘लिलिबिली’ चैत ३० गतेबाट प्रदर्शनमा आउँदैछ । यसै फिल्मको प्रमोशनमा यतिबेला उनी प्रदेश दौहाडामा छन् । खराब मौसमका कारण हवाईजहाज ल्याण्ड हुन नसकेपछि आइतवार पोखराको कन्सर्ट स्थगित भएको थियो ।
सोमबार चितवनको नारायणी किनारमा ‘लिलिबिली’ को स्टेज कन्सर्ट राखिएको थियो । जहाँ प्रदीपलाई हेर्नकै लागि हजारौं युवायुवती जमघट भएका थिए । उनीसँग सेल्फी खिच्न मरिहत्ते गर्नेहरु थोरै थिएनन् ।
फ्यानको भीडबाट जोगिएर स्टेजसम्म पुग्न प्रदीपलाई हम्मेहम्मे परेको थियो । यो भीड ‘लिलिबिली’ हेर्न हलसम्म पुग्नेमा निर्देशक मिलन चाम्स आशावादी रहेको बताउँछन् ।
चितवनको कन्सर्ट लगत्तै फिल्म यूनिट पुर्वका दमक, इटहरी, धरान लगायतका शहरमा पुग्नेछ । यस टुरमा प्रदीप र निर्देशक मिलनसँगै नव-अभिनेत्री जसिता गुरुङ, निर्माता सुदिप खड्का, नेपाल आइडलका प्रतिस्पर्धी तथा गायक प्रताप दास, गायक एसडी योगी र गायिका मेचु धिमाल रहेका छन् ।
चितवनमा कन्सर्ट गर्नु अगाडि फिल्म यूनिटले पत्रकारसँग भेटघाट गरेको थियो । प्रदीपले ‘लिलिबिली’ मा निभाएको भूमिका र कामको नयाँ अनुभवले आफूलाई नयाँ उचाई दिने आशा व्यक्त गरे । उनी हरेक नयाँ काम डेब्यु सरह हुने तर्क राख्छन् । डेब्यु गर्ल जसिताले फिल्ममा इमोसनल र सिम्पल केटीको भूमिका निर्वाह गरेको बताइन् ।
बेलायत, स्कटल्याण्ड र टर्कीको स्थानबुलमा छायांकन गरिएको यस फिल्म हरेक नेपाली फिल्मका फ्यानले गर्व गर्न लायक बनेको निर्देशक चाम्सले बताए । उनी भन्छन्, ‘विदेशमा मात्र छायांकन गरिएता पनि फिल्मले नेपालको प्रतिनिधित्व गर्छ ।’
यस्तै, निर्माता खड्काले ‘लिलिबिली’ को क्लाइमेक्स सिन हेरेर चाम्स र आफू गहभरी भएको सुनाए । ‘यस फिल्मले नेपाली फिल्ममा क्षेत्रलाई एक स्टेप माथि उठाउने छ ।’ उनले भने ।
उक्त फिल्ममा प्रदीप र जसिताका अलावा प्रियंका कार्की, अनुपबिक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, ध्रुव दत्त, रितेश चाम्स लगायतका कलाकारको अभिनय छ । फिल्ममा अर्जुन जिसीको सम्पादन, चन्द्र पन्तको एक्सन र सुदिप बरालको छायांकन छ ।
काफिया फिल्म्स्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ ।