शनिश्चरे/अहिलेको समयले निकै पछि धकेलेको ऐतिहासिक पहिचान । अंग्रेजी भाषाको प्रभाव अनि अति प्रगतिशिलताको राजनीतिक रापमा परेर ब्राह्मणवादको आरोप खेपेको संस्कृत भाषा । यही भाषाको जगेर्नामा तल्लीन भए स्थानीय ।
मोरङको पथरीशनिश्चरे–२ देवीगञ्जमा २०६८ मा खडा भएको विश्वनाथ संस्कृत विद्यालय आफ्नो अस्तित्व वचाएर ऐतिहासिक महत्व जोगाउन संघर्षरत छ । गुरुकुलीय पद्धतीबाट गीता, चण्डी, रुद्री आदिको अध्यापनमा तल्लीन छ । १४ जना विद्यार्थीहरूबाट सुरु गरिएको हो । स्कुलको नाममा ५ कठ्ठा जग्गा दर्ता भएको अभिलेख मालपोतमा रहेको छ । भौतिक पूर्वाधारको कुरा गर्ने हो भने आ.व. २०७२/०७३ मा १३ लाखमा जिल्ला शिक्षा कार्यालयबाट दुई कोठे भवन बनाइएको हो । खास गरी अहिले भौतिक पूर्वाधारको रूपमा छात्रावासको समस्या अत्यन्तै टड्कारो रूपमा रहेको छ । शौचालयको अवस्था दयनीय भएपछि जिल्ला शिक्षा कार्यालयबाट शौचालय निर्माणको क्रममा रहेको छ । पथरीशनिश्चरे नगरपालिका कार्यालयबाट आर्थिक वर्ष ०७४/ ७५ मा ५० हजार रुपैयाँ विनियोजित भएपछि घेराबारा भएको छ ।
विभिन्न ठाउँबाट आउने विद्यार्थीहरू प्रातकालीन र दिवाकालन दुवै गरी कक्षा १ मा १५ जना, दुईमा १२ जना, तीनमा १५ जना, चारमा १८ जना र पाँचमा १३ जना रहेका छन् । भर्ना भएका ५७ जना र वालविकास कक्षमा १४ जना ७१ जना विद्यार्थी विद्यालय आउने गरेको विद्यालयको अभिलेखमा देखिन्छ । विशेष गरी यस विद्यालयमा प्रातकालीन शिक्षामा हनुमान चालिसादेखि चाणक्य नीति, गीता, चण्डी, वेद, रुद्री पढाइ हुने विद्यालयका सहायक प्रधानाध्यापक केवलकृष्ण अधिकारीले जानकारी दिए । दिवा सत्रमा नेपाल सरकारबाट संस्कृत विद्यालयका लागि छुट्याइएको पाठ्यक्रमअनुसारका सबै विषय गुरुकुलीय पद्धतिमा अङ्ग्रेजी, विज्ञान, नेपाली, गणित, सामाजिक विषयहरू पठनपाठन भइरहेको उनले सुनाए ।
विद्यालयले लोप हुन लागेको पुरानो र वैज्ञानिक भाषाको संरक्षण, सम्वद्र्धन तथा आध्यात्मिक ज्ञानको वकालत गरेको छ । केही उपल्लो भनिएका जातीले मात्रै अध्ययन गर्ने कर्मकाण्डका विषयमा व्राह्मण, क्षेत्री, राई, लिम्बू, तामाङ, विश्वकर्मा सहितका जातजातीले यसलाई समान रुपमा अवलम्वन गरिरहेको अर्काे उदाहरणीय पक्ष भएको प्रधानाध्यापक उमाकान्त न्यौपानेले उल्लेख गरे । ‘भाषा संरक्षण, नैतिक शिक्षासँगै जातीय सांस्कृतिक अन्तरघुलनको अवस्था सिर्जना हुँदै जानु समाजका लागि फाइदाजनक हो ।’ – उनले सगौरव भने ।
नगरको एकमात्र संस्कृत विद्यालय हो यो । २७ वटा सामुदायिक विद्यालयमा यो धार्मिक विद्यालय समेत गरी २८ वटा पुगेको छ । विद्यालयको तत्कालीन समस्यामा खेलकुद सामग्री, पुस्तकालयको, शौचालय र छात्रवासको समस्याहरू देखिएकाले त्यसको व्यवस्थापनमा स्थानीय सरकार तथा स्थानीयवासीले सहयोग पुर्याउनु आवश्यक रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भवानी तिम्सिनाले वताए । जिल्ला शिक्षा कार्यालयले धार्मिक अनुदानका रुपमा १ लाख ८८ हजार वर्षेनी प्रदान गरेपनि त्यसले खर्च धान्ने अवस्था नभएको उनले दर्शाए । दुई खाले कक्षाका लागि ६ जना शिक्षक हाल रहेका छन् । त्यहाँ कुनै शिक्षकको दरवन्दी कायम गरिएको छैन । तलव तथा अन्य खर्चका लागि वर्षको ३ लाख रुपैयाँ अपुग हुने हुँदा वस्तीमा मुठ्ठीदान र चन्दा संकलनबाट निकै अप्ठेरो गरी उठाइने गरेको समस्या उनले जनाए । पुराण लगाएर वचेको साढे ३ लाख रुपैयाँको अक्षयकोषको व्याजबाट केही रकम जम्मा भएपनि वर्षेनी सहयोग मागिरहनु पर्ने अवस्थाको अन्त्य गर्न नगरपालिका कार्यालयले पहल गर्नुपर्ने उनले सुझाव दिए । ‘अनुदान थप्ने र शिक्षक दरवन्दी कायम गर्नुपर्ने आवश्यकता छ । ’– उनले भने । नगरपालिकाका प्रमुख दीलिपकुमार राईले विद्यालयहरुको व्यवस्थापनमा आवश्यक कार्यविधि तय हुँदै गरेकाले त्यस्ता विद्यालयका लागि पनि सम्वोधन गर्ने पक्षमा नगरपालिका रहेको उल्लेख गरेका छन् ।