पानवारी/ नेपाल सरकारले चैत्र १ गतेदेखि २० वर्ष पुराना सवारी साधन सञ्चालनमा रोक लगाएपछि धरानका ट्याक्सी व्यवसायी आन्दोलित भएका छन् ।
धरानका विभिन्न स्टेण्डमा रहेर ट्याक्सी सञ्चालन गरीरहेका व्यवसायीहरु सरकारको निर्णयले आफुहरुलाई प्रत्यक्ष मारमा पारेको भन्दै तुरुन्त निर्णय फिर्ता लिन माग गर्दै आन्दोलनमा उत्रिएका हुन् । ट्याक्सी व्यवसायीहरुले संयुक्त संघर्ष समिति गठन गरेर आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका छन् ।
मंगलबार संघर्ष समितिले तीनकुनेबाट निकालेको शान्तिपूर्ण र्याली जिरोप्वाइन्ट पुगेर भानुचोक आइपुगेपछि कोण सभामा परिणत भएको थियो । र्यालीमा करिब २ सय ट्याक्सी सहित व्यवसायीहरु सहभागी भएका थिए । कोण सभालाई सम्बोधन गर्दै संयुक्त संघर्ष समितिका संयोजक पर्वत श्रेष्ठले २० वर्ष पुरानो सवारी चलाउन नपाइने ऐन खारेज गर्न माग गरेका थिए । उनले सहुलियत सहितको विकल्पको व्यवस्था हुनुपर्ने, १ नं. प्रदेश भरी रुटपरमिटको व्यवस्था हुनुपर्ने माग राख्दै यदी आफ्ना मागहरु सरकारले सम्बोधन नगरे ससक्त संघर्षका कार्यक्रमहरु घोषणा गरी आन्दोलित हुने बताएका थिए ।
सरकारले सम्बन्धित पक्षसँग समन्वय नगरी एकतर्फी निर्णय लिएको संयुक्त संघर्ष समितिले आरोप लगाएको छ । २० वर्षको अवधिमा ससस्त्र द्वन्द भएको, मुलुकमा राजनीतिक परिवर्तनका निम्ति भएका आन्दोलनमा नेपाल बन्द जस्ता आन्दोलनले सवारी चलाउन नपाएको, साथै नाकाबन्दी, चक्काजाम र पेट्रोलियम पदार्थको हाहाकार भएकोले आफुहरुलाई राज्यले सम्बोधन गर्नुपर्ने लगायतका माग राखेर आन्दोलन सुरु भएको छ ।
चैत्र १ गतेदेखि लागु भएको ऐनले २० वर्षे सवारी साधन सञ्चालनमा रोक लगाएको छ । सरकारले देशैभरी २० वर्षभन्दा पुराना सवारीले वायु प्रदुषण गरेको र त्यसले मानव स्वास्थ्यमा गम्भिर असर गरेको भन्दै सञ्चालनमा रोक लगाएको हो । २० वर्षभन्दा पुरानो सवारी देशभरी ५ हजार भन्दा बढीको संख्यामा सञ्चालनमा रहेको यातायात व्यवस्था विभागको तथ्याङकमा छ ।