काठमाडौँ । एक साताअघि मात्रै मलेसियाबाट काठमाडौं फर्किएका थमबहादुर रोकालाई उनका कान्छो भाइ धर्मलालले आफू पनि दसैंमा जसरी भए पनि फर्किने बताएका थिए । ‘म दसैंमा आउँछु, त्यतिन्जेल घर गएर तपाईंले बुबाआमालाई हेर्नुहोला,’ साइँला दाइ थमबहादुरलाई कान्छाले भनेका थिए । धर्मलाल आफूले भनेको भन्दा निकै अघि बुधबार नै काठमाडौं आइपुगे तर बाकसमा बन्द भएर ।
मलेसियामा मृत्यु भएका म्याग्दीका ३४ वर्षीय धर्मलाल रोका ।
म्याग्दी मालिका–२, रुमको रोका परिवारका दुई छोराको यसअघि नै वैदेशिक रोजगारीमा गएको देशमा मृत्यु भइसकेको थियो । चार दाजुभाइ भएको परिवारका कान्छा धर्मलालको चैत ११ गते मलेसियामा मृत्यु भयो । उनका जेठा दाइ समबहादुर रोकाको १० वर्षअघि मलेसियामा, माइला भक्तबहादुरको १२ वर्षअघि कतारमा मृत्यु भएको थियो । चारै जना वैदेशिक रोजगारीमा गएकामा साइँला थमबहादुर मात्र सकुशल नेपाल फर्किए । ‘कान्छोको बाटो हेरिरहेका बाआमालाई कुन हृदयले बाकस खोलेर देखाउँ,’ बुधबार दिउँसो त्रिभुवन विमानस्थलमा शव बाहनमा भाइको शव राखिरहेका थमबहादुरले भने, ‘यति ठूलो चोट कसरी सहलान् ?’ थमबहादुर चैत ८ गते मात्र मलेसियाबाट फर्किएका थिए ।
‘चार वर्षदेखि म र भाइ मलेसियामा थियौं । भाइले सुरक्षा गार्डको काम गरिरहेको थियो,’ थमबहादुरले भने, ‘नेपाल फर्किने बेला मलाई बिदा गर्न कोठामै आएको थियो ।’ ड्युटी सकेर आफ्नो कोठामा फर्किएर कोठाको कुर्सीमा आराम गरिरहेका धर्मलाल बिहान मृत भेटिएका थिए । म्याग्दीस्थित घरमा रोगले थलिएका ७९ वर्षीय बुवा र ७६ वर्षीया आमा छन् । चार दाजुभाइमध्ये धर्मलालको मात्रै विवाह हुन बाँकी थियो । ‘कान्छो घर आउने भनेपछि बाआमाले दसैंमा बिहे गरिदिने भन्नुभएको थियो,’ थमबहादुरले भने । कान्छो छोरा घर फर्किने खबर पाएको तीन दिनमै उनी बितेको खबर गाउँमा फैलियो ।
‘१० वर्षपछि मेरा बाआमाको अर्को छोरा बाकसमा घर फर्किंदै छ,’ भावुक थमबहादुरले भने । वैदेशिक रोजगारीमा कतार पुगेका माइला छोरा भक्तबहादुरको १२ वर्ष पहिले कतारमा मृत्यु भएको थियो । त्यसको दुई वर्षपछि जेठा समबहादुरको मलेसियामा मृत्यु भएको थियो । मृत्यु हुँदा भक्तबहादुर २५ र समबहादुर ३० वर्षका थिए । कान्छा धर्मलालको उमेर ३४ वर्ष थियो । ‘भाइको गति पनि दाइहरूको जस्तै भइदियो,’ थमबहादुरले भने, ‘मेरा बाआमाले कसैको केही बिगारेको थिएनन् । किन यस्तो दिन देख्नुपर्यो ?’
विदेशमा मृत्यु भएका यी तीनै भाइमा कुनै खास रोग थिएन । तीनैजना ‘सुतेकै’ ठाउँमा मृत भेटिएका हुन् । समबहादुर मलेसियामा मोटर कम्पनीमा काम गर्थे । ड्युटी गरेर क्याम्प फर्केर सुतेका थिए । भोलिपल्ट ड्युटी जाँदा उठेनन् । साथीहरूले उठाउन खोज्दा राति नै प्राण गइसकेछ । भक्तबहादुर पनि कतारमा नाथुर (सुरक्षा गार्ड) नै काम गर्थे । ‘उहाँ गर्मी भएकाले सुत्न छतमा जानुभएछ । उहाँ पनि सुतेको सुत्यै हुनुभएछ,’ थमबहादुरले भने, ‘चार छोरामध्ये ममात्रै बाँचेको छु । यस्तो पीडा सहनुको सट्टा संसारबाटै बिदा हुन पाए हुन्थ्योजस्तो लाग्न थालेको छ ।’
घरबाट पहिलो पटक वैदेशिक रोजगारीमा माइला भक्तबहादुर गएका थिए । साइँला थमबहादुर र कान्छा धर्मलाल आफ्ना दुवै दाइको मृत्यु भइसकेपछि वैदेशिक रोजगारीमा गएका थिए ।
सन् २०१७ मा मात्रै मलेसियामा तीन सय ५४ जना नेपालीको मृत्यु भएको नेपाली दूतावासले जनाएको छ । मलेसियामा मृत्यु भएका कामदारको पोस्टमार्टमलाई पुन: परीक्षण गर्ने सुविधा भए पनि खर्च अभावका कारण प्राय: पहिलो पोस्टमार्टमको रिपोर्टकै आधारमा शव पठाइदिने गरिएको छ । ‘कामदार किन सुुतेको सुत्यै हुन्छन् भन्ने तथ्यसहितको कारण हालसम्म खुलेको छैन,’ मलेसियाका पूर्वश्रमसहचारी सूर्य भण्डारीले भने, ‘कामदार मृत्युको विषयमा खोजबिन नै हुन सकेन ।’
मलेसियास्थित बार एसोसिएसनकी सुमिताह शाहादिनी कृशनाले मलेसियामा सबैभन्दा बढी नेपाली नै मृत्युको सिकार भइरहेको बताउँछिन् । ‘कामदारको स्वास्थ्य निकै जोखिमपूर्ण छ । किन बढी नै नेपालीको मृत्यु भइरहेको छ । यसबारे अध्ययन हुनुपर्छ,’ उनले भनिन् ।