विजयपुर/धरानमा खानेपानी वितरण गर्ने जिम्मेवारी लिएको नेपाल खानेपानी संस्थानको पानी प्रयाप्त नभएपछि एसियाली विकास बैकको सहयोगमा सञ्चालित एकिकृत शहरी विकास आयोजनाको पानी वितरण गर्न थालिएको छ ।
संस्थानको पानीमात्र प्रयाप्त नभएपछि धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाले एकिकृत शहरी विकास आयोजना (आईयुडिपी)को पानी वितरण गर्न निर्देशन दिएपछि संस्थानले आईयुडिपीको खानेपानी वितरण गर्न थालेको हो ।संस्थानको सेउतीको जंगलमा रहेको पम्पले पानी तान्न र वितरण गर्न नसक्ने भएपनि आईयुडिपीको सिस्टमबाट पानी वितरण थालिएको धरान उपमहानगरपालिकाले जनाएको छ ।
‘संस्थानले वितरण गर्ने खानेपानी प्रयाप्त नभएपछि आईयुडिपीको खानेपानी संस्थानको टंकीमा हालेर वितरण गर्न निर्देशन दिइएको हो’ मेयर सुब्बाले भने ‘ आईयुडिपीको पानी विरतरण सुरु भएपछि तत्काललाई राहत मिल्ने विश्वास छ ।
आईयुडिपीका आयोजना प्रमुख इन्जिनियर राजु पोख्रेलले मेयरको निर्देशनमा तत्कालको समस्यालाई हल गर्न संस्थानको सिसटममा खानेपानी उपलब्ध गराइएको बताए ।अहिले दैनिक २० लाख लिटर पानी संस्थानलाई दिएको उनले बताए ।
आयोजना प्रमुख पोख्रेलले चैत्र मसान्त भित्रमा आइयुडिपीको विजयपुर बाहेकका सव सिस्टमबाट खानेपानी वितरण हुने बताए । अहिले सउतीको जंगलमा बनाएको रिजर्भ टंकीबाट खानेपानी वितरण गर्न आवश्यक पर्ने ‘फ्रेन्ज र फकेट’ भारतबाट आउने क्रममा रहेकाले केही दिन भित्र फ्रेन्ज र फकेट जडान गरेपछि सेउतीको सिस्टमबाट खानेपानी वितरण गर्न सकिने पोख्रेलले बताए ।
खानेपानी संस्थान धरानका प्रमुख रामकुमार श्रेष्ठले आयुडिपीको पानी नहुदा धरानमा वितरण गरिने पानी प्रयाप्त नहुने बताए । हाम्रा सबै सिस्टमहरु बिग्रिएका छन्,मेयरले आइयुडिपीको पानी वितरण गर्न अनुमती दिएपछि अहिले आइयुडिपीको सेउती सिस्टमको पानी वितरण गरिरहेका छौ प्रमुख श्रेष्ठले भने ।
अहिले आइयुडिपीबाट प्राप्त पानी धरान ८,१५,१२ नम्बर वडा सहित धरान १३ स्थित संस्थानको कार्यालय परिषरमा रहेको टंकीबाट वितरण भईरहेको उनले बताए ।उनले आफुहरुको बिग्रीएको सिस्टम बनाउने प्रयास भईरहेको बताए । आइयुडिपीका आयोजना प्रमुख पोख्रेलका अनुसार अहिले खानेपानी संस्थानलाई पानी उपलब्ध गराउदा धरान उपमहानगरपालिकाको दैनिक करिब ६० हजार रुपैया डिजेलमा खर्च हुने गरेको छ ।