भोजपुर । जिल्लामा प्राकृतिक स्रोत द्धन्द्ध रुपान्तरण केन्द्रले स्थानिय गाउँस्तरमै सानातिना वर्षौँदेखिका द्धन्दहरुलाई सहमतिको बाटो खोलीदिने काम गर्दै आएको छ । स्थानीयस्तरमा अदालतको काम गर्दै आएको केन्द्रले अरुण गाउँपालिका वडा नं २, चम्पे र वडा नं ३ प्याउलीमा पर्ने पालेबन सामुदायिक बनको अलैँची रोपणको विषयमा उपभोक्ताविचकै झण्डै ८ वर्ष लामो विवाद २ वर्ष ४ महिना लामो समयअन्तरालको सहजीकरणपछि सहमतिमा आएको छ । ३ सया ४७ घरधुरी उपभोक्ता रहेको पालेबन सामुदायिक बनको गठन अगावै अलैँची रोपेपछि शुरु भएको विवाद स्थानीयस्तरमा नै मिलाईएको हो । सामुदायिक वन क्षेत्रमा स्थानीय उपभोक्ताहरुले रोपेको अलैचीको कर सामुदायिक वनलाई नतिरेपछि शुरु भएको विवाद चरम उत्कर्षमा पुगेको थियो । ‘सामुदायिक वनमा लगाएको अलैचीको कर उपलब्ध नभएपछि हाम्रो विवाद शुरु भएको हो ।’ पालेवन सामुदायिक वनका अध्यक्ष लोकबहादुर सारु मगरले भने, ‘हामीले प्रतिकिलो रु ५ का दरले कर संकलन गर्ने भनेर निर्णय पनि गरेका थियौ पछि आएर ८ हजार रुपैया संकलन पनि भयो ।’ सामुदायिक वन २०६५ सालमा गठन भएपछि यस जंगलमा फडानी बढेको थियो भने अलैची रोप्ने क्रम घटेको थिएन । सामुदायिक वनमा अलैची रोप्ने र नरोप्ने वीच दुई धारमा विभाजित भएपछि शुरु भएको विवादले जंगलको अलैची हटाउनुपर्ने, बिरुवा रोप्ने लगायतको माग अगडि सारेका थिए । बनको सहमतिपश्चात पालेबन सामुदायिक बनको विधान कार्ययोजना आगामी आर्थिक वर्षभित्रै बनाईने भएको छ । साथै बनको क्षेत्रभित्र अलैँचीपछि ८ देखि १० मिटरको दुरीमा रुखविरुवा अनिवार्य रोपिने, बनभित्र अलैँची रोपेबापत प्रतिरोपनी रु ५ देखी रु हजारसम्मको जग्गाको किसीम अनुरुप वार्षिक रुपमा बनलाई बुझाउने, स्थानिय प्राविधिकको रोहवरमा अलैँचीको क्षेत्र विस्तार गर्ने लगायतका ८ वटा बुँदागत सहमतिपछि उपभोक्ताविच व्यावहारिक भाईचाराको माहोल छाएको छ । द्धन्द रुपान्तरण केन्द्रको अथक सराहनीय प्रयासपछि वर्षौँदेखिको विवाद सहमतिको दिशातिर धकेलिएको पालेबनका सदस्य ठाकुरसिं राईले बताए । उनले वर्षौँदेखिको बन र अलैँची किसानविचको तिक्ततालाई मेटाउने प्रयास गरेकोमा केन्द्रलाई धन्यवाद दिन्छन् । केन्द्रले वर्षौँदेखि प्रभावकारी सहजीकरण गर्दै असन्तुष्ट पक्षका मानिसहरु सहमति बाटोमा ल्याउनु प्रमुख भुमिका खेलेको उनले सुनाए । लामो समयको प्रयास र दौडधुपपछि अन्ततः विवाद सुल्झिएको प्राकृतिक श्रोत द्धन्द रुपान्तरण केन्द्र नेपाल राष्ट्रिय श्रोत व्यक्ति सूर्यविक्रम राईले बताए । उनले पालेबन मात्र नभई जिल्लाका विभिन्न स्थानीयस्तरमा रहेका विवादलाई गाउँतहमै सुल्झाउने केन्द्रको प्रयास रहेको बताए ।