सुनसरी नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पाँच जना कार्यकर्ताहरूलाई सुनसरी जिल्ला अदालतबाट सुनसरी प्रहरीले पक्राउ गरेको छ । आइतबार पाँच जना कार्यकर्ताहरूका तर्फबाट सुनसरी जिल्ला अदालतमा बन्दी प्रत्यक्षीकरण मुद्दा दायर भएपछि कानुन व्यवसायीको जिम्मामा अदालतले छाड्ने आदेश दिएको थियो । सुनसरी जिल्ला अदालतका जिल्ला न्यायाधीश विनोदकुमार गौतमको इजलासले पक्राउ परेका छ जनामध्ये नन्द थापा नाम गरेका विप्लवका कार्यकर्ताबाहेक अन्य पाँच जनालाई कानुन व्यवसायी निराजन ओझाको जिम्मामा बुझाई छाड्ने आदेश भएको थियो। कानुन व्यवसायी ओझाका अनुसार आफूले जिम्मा बुझ्नेबित्तिकै जिल्ला प्रहरी कार्यालयबाट खटिई गएको प्रहरी टोलीले नियन्त्रणमा लिएर उनीहरूलाई पुनः पक्राउ गरी लिएर गएको हो । प्रहरीले चार जनालाई धरान र दुई जनालाई इटहरीबाट पक्राउ गरेको थियो । आइतबार प्रहरीले लक्ष्मण कार्की, सुरेश राईलगायतलाई पक्राउ गरेको हो ।