धरान/ यातायात व्यवसायीको दादागिरीका कारण झापाबाट भोजपुरका लागि हिँडेको बस धरानमा रोकिँदा यात्रु बिचल्लीमा परेका छन् । यसमा प्रशासनले पनि केही गर्न सकेको छैन ।
भारतबाट भोजपुर घर फर्किंदै गरेका अजय राई चढेको गाडी धरानमा रोकिएपछि उनी बीच बाटोमै अलपत्र परे । एक हजार रूपैया भाडा तिरेर आएका उनलाई गाडी के कारणले रोकियो भन्ने थाहा छैन । उनीमात्र होइन, उमादेवी बस्नेतको हविगत पनि त्यस्तै भयो । ‘थाहा छैन, किन रोकियो । भाडा तिरिसकेकी छु ।’ उनले भनिन् । विराटनगरबाट भोजपुर हिँडेकी उनले दुईजनाको १६ सय रूपैयाँ भाडा तिरेकी थिइन् । तर गाडी रोकिएपछि भने उनी अन्योलका बीच भुनभुनाउँदै थिइन् ।
पहाडी रुटमा चल्ने कोशीका सवारी व्यवसायीहरूले बुधबार बिहानै गाडी रोकेपछि उनीहरूजस्ता ४० भन्दा बढी यात्रु बिचल्लीमा परेका हुन् । झापाको काँकडभिट्टाबाट सिधै भोजपुरका लागि हालेकोमा आपत्ति जनाउँदै धरानका व्यवसायीहरूले धरान–८ को भोटेपुलमा बस रोकेर चल्न दिएनन् ।
बसका कन्डक्टर राजु श्रेष्ठले आपूmहरूले इजाजत पत्र र रुट परमिट लिएरै बस सञ्चालन गरेको बताए । ‘दुई महिना भयो, रुट परमिट र इजाजत लिएको’, उनले भने, ‘व्यवसायीले सहमतिविना चलाउनै दिन्नौँ भनेर रोके ।’ व्यवसायीहरूको सिन्डिकेटका कारण मे. १ ख २११० नम्बरको मुनाल डिलक्सले झन्झट व्यहोर्नुपरेको छ । श्रेष्ठले भने, ‘नियमअनुसार रुट इजाजत लिइसकेपछि चल्न पाउने हो ।’
पहाडी उत्तरखण्डका संयोजक नन्दकुमार लम्सालले आ–आप्mनो ठाउँमा आ–आप्mनै सिस्टम भएकाले सहमति गरेर मात्रै चलाउन दिने बताए । ‘सिन्डिकेट लागू गरेका होइनौँ । ठाउँ–ठाउँमा सिस्टम छ । त्यो सिस्टममा चलाऊ भनेर भनेको हो’, उनले भने, ‘चलाउनै नदिने भन्ने होइन । सहमति गरेर चलाऊ भन्ने हो ।’ उनले यसरी चलाउँदा प्रतिस्पर्धाका कारण दुर्घटना हुने सम्भावना बढ्ने भएकाले पनि सहमतिमा मात्रै चलाउन आग्रह गरिएको जिकीर गरे । यो बसलाई यसअघि पनि धरानका व्यवसायीहरूले रोकेका थिए ।