पानवारी । एम्स एकडेमीको वार्षिकोत्सवको अवसर पारेर एम्स आइडल २०७४ घोषित गरिएको छ । बिहीबार धरान–१९ स्थित बृटिश कम्युनिटी हलमा सम्पन्न भएको एम्स एकेडेमीको वार्षिकोत्सव कार्यक्रममा गायन तर्फ श्रीहाङ राई र नृत्य तर्फ इचिङ्का लिम्बू एम्स आइडल घोषित भएका हुन् । आइडललाई नगद सहित मेडल पुरस्कार प्रदान गरिएको थियो । साथै वार्षिकोत्सवको अवसरमा एम्स एकेडेमीले वर्षभरी सञ्चालन गरेको विभिन्न खेलकुद कार्यक्रमका विजेताहरुलाई समेत पुरस्कृत गरिएको थियो । एम्स एकेडेमीको तर्फबाट सहभागी भएको बास्केटबल टोलीले जिल्ला प्रथम स्थान हासिल गरेको र हिसान स्पोर्टस् मिटमा दोस्रो भएको भन्दै बास्केटबल टोलीलाई सम्मान गरिएको थियो । बिहीबार सम्पन्न कार्यक्रम अन्तर्गत नृत्य प्रतियोगितामा मनि शेर्पा दोस्रो र जुन दर्नाल तेस्रो भएकी थिइन् । त्यस्तै गरी गायन तर्फ मनिष परियार र रिङ्कु राई क्रमशः द्वितिय र तृतिय भएका छन् । कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारका क्याम्पस प्रमुख प्रा.डा. धनबहादुर कार्की तथा विशेष अतिथिको रुपमा नेपाल परिक्षा बोर्ड विराटनगरका दयाराम राई उपस्थित रहेका थिए ।