चुनावमा एमाले र माओवादीसँग मिलेर संसदमा एक सिटको प्रतिनिधित्व गर्दै आएको चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले अन्ततः नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग गठबन्धन गरेको छ । यो गठबन्धनमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र ऋषि कट्टेल नेतृत्वको नेकपासमेत सहभागी भएका छन् ।
चारवटा वामपन्थी समूहले विहीबार गठबन्धनको घोषणा गर्दै ओली सरकारको भारत नीतिविरुद्ध आन्दोलनको कार्यक्रमसमेत घोषणा गरेका छन् ।
चारदलको संयुक्त बैठकपछि जनमोर्चाको मातृपार्टी नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह र माओवादी नेता मोहन वैद्यका साथै ऋषि कट्टेल र खड्गबहादुर विश्वकर्मा प्रकाण्डद्वारा हस्ताक्षरित विज्ञप्तिमा केपी ओलीले भारत भ्रमणका क्रममा पुराना असमान सन्धीलाई निरन्तरता दिन लागेको भन्दै आपत्ति जनाइएको छ ।
साथै प्रधानमन्त्री ओलीले दिल्लीमा मोदीसँग मिलेर अरुण तेस्रो जलविद्युत आयोजनाको संयुक्त रुपमा शिलन्यास गर्न लागेको भन्दै चार दलले विरोध गरेका छन् ।
प्रधानमन्त्री ओलीको यो कार्य्विरुद्ध काठमाडौंमा विरोध प्रदर्शन गर्ने चार दलले जनाएका छन् ।
साथै सरकारले विप्लव समूहको शान्तिपूर्ण कार्यक्रममा दमन गरेको भन्दै विज्ञप्तिमा आपत्ति जनाइएको छ ।
आगामी बैशाख ३ गते चार पार्टीको आयोजनामा राष्ट्रियतासम्बन्धी अन्तरक्रिया गर्ने जनाइएको छ ।
साथै चारवटै पार्टीले आगामी दिनमा पार्टी एकीकरणका लागि छलफल गर्दै अघि बढ्ने निर्णयसमेत गरेको विज्ञप्तिमा उल्लेख छ ।