मोरङ/ १ नम्वर प्रदेशमै पहिलो पटक बाल अधिकार कार्यविधि निर्माणको क्रममा जुटेको मोरङको पथरीशनिश्चरे नगरमा कार्यविधि सम्बन्धमा नगर कार्यपालिका सदस्यहरुसँग अन्तरक्रिया भएको छ ।

पथरीशनिश्चरे नगरपालिकाको आयोजनामा आज भएको छलफलमा केन्द्रीय वालकल्याण शाखा अन्तर्गत १ नम्वर प्रदेशका स्रोत व्यक्ति सुमन अधिकारीले कार्यविधिको मस्यौदा पेश गर्दै छलफल गराएका छन् । छलफलका क्रममा उनले यो कार्यविधि १ नम्वर प्रदेशकै पहिलो कार्यविधि वन्ने उल्लेख गर्दै वालअधिकारलाई स्थापित गरेर भविष्यका कर्णधारहरुका लागि वेलैदेखि सृजनशिलता एवम् नैतिकता सिकाउने अभियानमा सवै लाग्नु आवश्यक रहेको चर्चा गरेका छन् ।

अव वालवालिका, सुरक्षा निकाय सहितका सरोकारवालाहरुसँग यस कार्यविधिका वारेमा छलफल गरी रायसुझाव संकलन गरिने नगरको महिला तथा वालवालिका शाखाकी गीता कट्टेलले जनाइन् ।

कार्यक्रममा, नगर प्रमुख दिलिपकुमार राई र उपप्रमुख यमुना विष्ट वास्तोलाले वालअधिकारका क्षेत्रमा नगरपालिका प्रतिवद्ध रहेको उल्लेख गर्दै चाँडै कार्यविधिलाई कार्यपालिकामा पारित गराएर लागू गर्ने वताए ।

कार्यविधिमा, नगर प्रमुखलाई अध्यक्ष मानेर नगरमा वालमैत्री शासन समिति निर्माण गरी उसले नीति वनाउने तथा उपप्रमुख अध्यक्ष रहने वाल संरक्षण समितिले योजना कार्यान्वयन गराउने, वडा वडामा वालवालिका डेस्क खडा गर्ने, जोखिमका परेका वालवालिकाका लागि वालकल्याण कोष स्थापना गर्ने सहितका कुराहरु समेटिएको छ ।