विराटनगर । जिल्ला जनस्वास्थ्य कार्यालय मोरङको तथ्यांकमा २० वर्षमुनि नै धेरै युवतीहरू गर्भवती भएको देखिएको छ । आर्थिक वर्ष २०७२र०७३ को तथ्यांकअनुसार २४ दशमलव ५९ प्रतिशत गर्भवती महिला २० वर्षमुनिका छन् । २०७२र०७३ को तुलनामा तथ्यांकमा केही कमी आउँदा आर्थिक वर्ष २०७३र०७४ मा पनि २० वर्षमुनिका गर्भवती महिलाको संख्या २१ दशमलव३३ प्रतिशत देखिएको छ । तर यो प्रतिशतको दर बढेर चालू आर्थिक वर्षको असोज मसान्तसम्म भएका गर्भवती महिलाको संख्या पुनः २४दशमलव ३१ प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०७२र०७३ मा २९ हजार ८६ जना गर्भवती महिलामध्ये २० वर्षमुनिकाको संख्या सात हजार १५४ थियो । गत आर्थिक वर्षमा भने २८ हजार ८४९ जना गर्भवती महिलामध्ये छ हजार १६५ जना महिला २० वर्षमुनिका युवती छन् भने चालू आर्थिक वर्षको साउनदेखि असोजसम्ममा पाँच हजार ४०१ जना गर्भवती महिलामध्ये एक हजार २१३ जना महिला २० वर्षमुनिका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्यांक शाखाका कर्मचारी दीपक भट्टराईका अनुसार यो तथ्यांक मोरङका सबै स्वास्थ्य संस्थामा पहिलो पटक चेकजाँचमा आएका गर्भवती महिलाको हो । कम उमेरमा गर्भवती हुनुमा जनचेतनाको कमी, पारिवारको दबाब, सानै उमेरमा प्रेम गरेर भागी विवाह गर्नु र जबर्जस्ती विवाह गराइदिनु नै रहेको जानकार बताउँछन् । सरकारले छोराको उमेर २२ र छोरीको उमेर २० वर्ष कटेपछि गरेको विवाहलाई परिपक्व विवाह मान्दै आएको छ र सोहीअनुसारका सूचना तथा जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ । यद्यपि, विगत तीन वर्षको तथ्यांक हेर्दा यो अवस्था घटेको देखिदैन २० वर्ष उमेर नपुगी गर्भवती भए उनीहरूमा यौनजन्य समस्या वा जटिलता देखापर्ने गरेको वरिष्ठ स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा. बालकृष्ण साहको भनाइ छ । आफू चिकित्सकको रूपमा खटिइरहँदा २० वर्षमुनि गर्भवती हुँदा जटिल समस्या देखेको उनले बताए । साहले भने, ‘उमेर नपुग्दै विवाह गर्दा धेरै बच्चा पाउने, जन्मान्तर कम हुने, महिलामा पाठेघरको क्यान्सर, आङ खस्ने समस्या बढी हुने, कम तौलको बच्चा जन्मिने र आमालाई उच्च रक्तचापको समस्या आउने पनि पाइएको छ ।’ परिपक्व भएपछि वा २० वर्ष पार गरेपछि मात्र विवाह गर्ने, परिवार नियोजनका साधन प्रयोग गर्ने, नियमित गर्भ परीक्षण गर्ने र स्वास्थ्य संस्थामा मात्र प्रसव गराउने कुराको विकास हुँदै गए मात्रै मातृशिशु मृत्युदरमा कमी आउने साहको भनाइ छ । ‘डेमोग्राफी एन्ड हेल्थ सर्भे, २०११’ ले प्रकाशन गरेको तथ्यांकअनुसार विश्वभर औसत महिलाको विवाह १७.५ वर्षमा हुने गरेको छ । ७१ प्रतिशत महिलाको विवाह किशोरावस्थामा अर्थात् १९ वर्ष नपुग्दै हुने गरेको छ । सन् २०१६ को तथ्यांकअनुसार औसत महिलाको विवाह गर्ने उमेर १७.९ वर्ष छ भने ५२ प्रतिशत महिलाको विवाह किशोरावस्थामा अर्थात् १८ वर्ष नपुग्दै हुने गरेको छ । ११ प्रतिशत किशोरीले १५ वर्ष पुग्नुअघि नै यौनसम्पर्क गरिसकेका हुन्छन् । विश्वका १० लाख किशोरी १५ वर्षमै आमा कम उमेरमा विवाह गर्दा पढाइ बिग्रिने वा भविष्य छताछुल्ल हुने मात्र होइन, पारिवारिक झमेला सुरु हुन्छ । यसबाट अध्ययन र बौद्धिक विकास रोकिन्छ अनि आर्थिक समस्याले घेरा हाल्न थाल्छन् । आर्थिक, सामाजिक समस्याले गर्दा किशोरीले आफ्ना प्रगति, सपना अनि रहरलाई निमोठ्नुपर्ने त हुन्छ नै स्वास्थ्यमा पनि नकारात्मक प्रभाव पर्छ । नेपाली समाजमा विहेसँगै बच्चा जोडिएको हुन्छ । कम उमेरमा विवाह गर्दा बच्चा पनि चाँडै हुन्छ । विश्व स्वास्थ्य संघ (डब्लुएचओ)ले प्रकाशन गरेको सन् २०१४ को तथ्यांकअनुसार एक करोड ६० लाख किशोरी (१५ देखि १९ वर्षका) वर्से्नि गर्भवती हुने गरेका छन् । यसैगरी १० लाख किशोरी १५ वर्षमै आमा बन्ने गर्छन् । यी गर्भवतीमध्ये ९५ प्रतिशत कम तथा मध्यम आय भएका मुलुकका हुने गरेको छ । सोही तथ्यांकले १५ देखि १९ वर्षका किशोरीमा मृत्युको दोस्रो प्रमुख कारण गर्भको जटिलता र प्रसव नै रहने गरेको देखाएको छ । करिव ३० लाख किशोरीले वर्से्नि असुरक्षित गर्भपतन गराउने गरेको तथ्य पनि उक्त प्रतिवेदनमा उल्लेख छ ।