कुनै बेलाकी चर्चित मोडल शिवानी सिंह थारू अहिले भने छुट्टै अवतारमा उपस्थित भएकी छिन्, उपन्यासकारका रूपमा । उनले करिब ९ वर्षअघि नै उपन्यास लेख्ने घोषणा गरेकी थिइन् । तर, पात्रको खोजी, परिवेशको निर्माण र शैली तथा शिल्प विकासमा उनलाई लामै समय लागेछ । आगामी बिहीबार ‘काठमाडौंमा एक दिन’ उपन्यास सार्वजनिक गर्ने तयारीमा रहेकी शिवानीसँग गरिएको संक्षिप्त कुराकानी :
[caption id="attachment_78869" align="alignleft" width="500"] शिवानी सिंह थारू[/caption]धेरै लेखकको पुस्तक आइसक्दा पनि चर्चा हुँदैन, तपार्इंंको त नआउँदै चर्चा धेरै छ, सेलिब्रेटी भएर हो कि चर्चा गराउन सक्ने कला भएर ? आजभन्दा १५ वर्षअगाडि नेपाल टेलिभिजनको कार्यक्रममा ‘मेरो गीत मेरो सन्देश’ चलाउने शिवानी सिंह थारू कहाँ हराइन् भनेर उतिबेलैदेखि खोजिराखेको जमातको खोजखबरले हो, पुस्तकले नआउँदै चर्चा बटुलेको ।
एउटै उपन्यास लेख्न ९ वर्ष लगाउनु भयो, गाह्रै रहेछ है उपन्यास लेख्न ? एकदमै गार्हो कला हो उपन्यास लेखन । तर्कशील र मिठो भाषा भएर मात्र पुग्दैन कथावाचन शैली सृजनशील हुनुपर्छ ।
तपाईंले लाइबे्ररी र फिल्ड रिसर्च गरेर उपन्यास लेखे भन्नुहुन्छ, त्यत्रो रिसर्च गरेपछि पनि किन आख्यान नै रोज्नुभयो ? रिसर्च गरेर थेसिस मात्र लेखिन्छ र ? आख्यान लेख्न रिसर्च गर्नु विकल्प हैन, आवश्यकता हो ।
पहिले कभर त्यसपछि ट्रेलर सार्वजनिक गर्नुभयो, कतिपयले पुस्तक हो कि, फिल्म आउन लाग्या भनिरहेका छन् नि ? यो कन्फ्युजनले मान्छेहरूले कमसेकम प्रश्न त सोधिराखेका छन् । के आउन लागिराखेको छ भनेर ।
प्रचारमा त तपाईंले नौलो शैली अपनाउनु भयो, पुस्तकको प्रस्तुतिचाँहि कत्तिको नौलो छ ? खै ! पढेर भन्नु होला नि उल्टै तपाईंहरूले मलाई । कतिपय नेपाली लेखकमा विदेशी लेखकको हुबहु नक्कल गर्ने बानीसमेत छ, तपाईंचाँहि विदेशी लेखकबाट कत्तिको प्रभावित हुनुहुन्छ ? म शतप्रतिशत विदेशी लेखकबाट प्रेरित छु । प्रभावित कसैबाट छैन । ट्रेलर हेर्दा त बम पड्काउन प्रोत्साहित गरेझैँ देखिन्छ, उपन्यासले हिंसाको वकालत गर्न खोजेको हो ? ट्रेलर हेरेर यति चाँडो धारणा बनाउनु ठिक हैन । किताब पढेपछि के हो/के हैन भन्ने कुरा छर्लंग भइहाल्छ ।
अरु नेपाली लेखकका भन्दा तपाईंको उपन्यास के कारणले फरक छ ? फरक र समानता मैले भन्ने कुरा हैन, पढ्नेहरूले भन्ने हो ।
उपन्यास लेख्दा कुनै विन्दुमा पूरा नगरी यत्तिकै छाडिदिउँ जस्तो लागेन ? कहिले पनि लागेन । बरू यो उपन्यास सकिएपछि म डिप्रेसनमा पो जान्छु होला जस्तो लाग्न थालेको थियो । यसपछि लाग्ने खालिपन के गरी पूर्ति गर्ने हो जस्तो लागेको थियो ।
पाठकको अपेक्षा पनि बुझेर उपन्यास लेखेको तपाईंको दाबी छ, पाठकको अपेक्षाचाँहि के रहेछ त ? आम पाठकको अपेक्षा बुझेर उपन्यास लेखेको भनेको हैन । त्यसो भन्नु नवसिखुवा पारा हो । मैले त आफू पाठकको रूपमा किताब पढ्दा के कुराले तान्छ, त्यो शिल्प सिके कि भन्ने लागेर, त्यसलाई प्रयोगमा ल्याउन सक्दो प्रयास गरेको छु भनेको हो ।
आफ्नो उपन्यास कुन वर्गका पाठकका लागि हो जस्तो लाग्छ तपाईंलाई ? रोबोटबाहेक संवेदना भएका पाठक वर्गका लागि हो यो उपन्यास ।
उपन्यास लेख्न धेरै अध्ययन गरे भन्नुहुन्छ, ९ वर्षमा कति पुस्तक पढ्नुभयो होला ? उपन्यास लेख्नकै लागि मैले पुस्तक पढ्न सुरु गरेको हैन । म लाई ‘म’ हुन पुस्तक पढ्नु पर्छ । यतिउति पुस्तक पढेको चर्चा गरेर ‘सोअफ’ गर्नु हूँदैन । त्यो त उसले गर्ने कर्म र आचरणले देखाउने कुरा हो ।
तपाईंको पुस्तक एकदमै विवादित भयो भने के गर्नुहुन्छ ? म अब अर्कै कथा र प्लटमा छिरिसकेँ । त्यसको ‘अप्लाइड अथर’ को मृत्यु भइसक्यो । त्यसले सतहमा ल्याउने विषयको बहसमा भाग लिन सक्छु, तर्क थप्नु सक्छु वा बिम्बात्मक पाटाहरू प्रकाश पार्नसम्म सक्छु । तर, उपन्यासको औचित्यबारे स्पष्टीकरण दिँदिनँ । यसो गर्नु लेखक असफल हुनु हो।