मधुमल्ला । उर्लाबारी नगरपालिका–४ का दिपेन्द्र थापाले ५ वर्ष पहिलेदेखि मौरी पालन गर्दै आइरहेका छन् । प्रारम्भमा उनलाई मौरी पालनवाट आम्दानी गर्न सकिन्छ भन्ने खासै विश्वासै थिएन । मौरी पालन गरे घरमै मात्र प्रयोग हुन्छ भन्ने कुरामा विश्वास गर्ने दिपेन्द्रको आजभोली भने धेरै परिर्वतन आएको छ । पछिल्लो समय मौरी पालन सुरु गरेर घरमा मह किन्न विस्तारै विस्तारै मानिसहरू आउन थालेपछि उनले अहिले व्यवसायिक रूपमै मौरी पालन गरेर राम्रो आम्दानी गर्न थालेका छन् । अहिले उनले मौरी पालनबाटै घर व्यवहार चलाउनुका साथै वार्षिक राम्रै गरी रकम बचत गर्ने समेत गरेका छन् । ‘मैले अहिले वार्षिक करिव ५ लाख मौरी पालनबाटै कमाउँछु,’ थापाले भने ‘महको माग बढ्दै गएको हुनाले घारहरु पनि थप्दै गएको छु ।’ उनले फुर्सदको केही समय मात्र मौरीलाई समय दिए पुग्ने बताए । थापाको घरमा आहिले ४५ वटा आधुनिक घारमा मौरीहरू रहेका छन् । थापाले पालन गरेको व्यवसायिक मौरी पालन देखरे उर्लाबारीमा मौरी पालन गर्नेहरूको संख्या समेत बढिरहेको छ । उर्लाबारीमा दर्जन बढीले मौरी पालन गर्दै आएका छन् । उर्लाबारीमा मौरी पालन गर्ने किसानहरूको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । यता उर्लाबारी–२ का शिवराज थापाले पनि मौरी पालन गरेर राम्रो आम्दानी गरिरहेका छन् । अन्य ब्यवसायमा रुमलिएका शिवराजले गत बर्षदेखि मौरी पाल्दै आएका हुन् । ‘बिहान बेलुका फुर्सदकै मेहनतले मौरी पाल्न सकिदो रहेछ’ उनले भने । सुरुवाति चरणमै एक सिजनमा डेढ लाख रुपैयाँसम्म कमाएको उनको अनुभव छ । २२ घारबाट उनले त्यतिका रकम कमाएका हुन् । ‘प्रकृतिमा खेर गइरहेको पुष्पको प्रयोगले मौरी पालन गर्न सकिन्छ’, मौरीपालक दिपेन्द्रले भने ‘राम्रो परागसेचन भयो भने बालीनाली पनि सप्रँदा रैछन् ।’ उनले आजभोलि गाउँ ठाउँमा डुल्दा घुम्दा सम्भावित ठाउँमा मौरी पालनका लागि अनुरोध गर्ने गरेको समेत बताए । उनले मौरीको गोलामा पस्ने मैन पुतली पसे नपसेको बारेमा हेक्का राख्यो भने मौरी पालनमा अरू अप्ठ्यारो नहुने बताए । मैन पुतली मौरीको घारमा पस्यो भने त्यसले मौरी भाग्ने वातावरण बनाउँछ । मोरङ जिल्लामा मौरी पालन किसानहरुले उत्पादन गरेको मह ७ सय देखि १ हजार रुपैया प्रति किलोमा बिक्री हुँदै आएको छ । केही वर्षयता जिल्लामा मौरी पालन किसानहरुको संख्या बढ्दै गएकाले उनीहरुले मौरी व्यवसायी संघ नै गठन गरेका छन् । मेलिफेरा मौरीपालन कृषक समूह गठन गरी उनीहरुले प्राप्त बजार प्रवद्र्धन र तालिमहरु सञ्चालन गर्दै आएका छन् ।