हरेक अभिभावकले बच्चालाई यो प्रश्न सोध्नुपर्छ । किनभने हामी आफ्नो कोणबाट हेर्छौं र आफ्नै अनुकुलतालाई केन्द्रमा राखेर विद्यालय छनौट गर्छौं । बच्चाको नजरबाट विद्यालयको मूल्यांकन गर्दैनौं । जबकी विद्यालयमा बच्चा लेखपढ गर्न मात्र होइन, आफ्नो बालापन विताउन पनि पुग्छन् ।

यतिबेला अधिकांश विद्यार्थी अन्तिम परीक्षा दिएर बसेका छन् । नतिजा आएपछि विद्यालय भर्नाको प्रक्रियामा दौडनु नै छ । कतिपय बालबच्चा भने पहिलो पटक विद्यालयमा भर्ना हुनेछन् । कतिपयले विद्यालय स्थान्तरण गर्नेछन् ।

चाहे सोही विद्यालय दोहोर्‍याउन लागेको होस् वा अर्को विद्यालय स्थान्तरण गर्न लागेको होस् । अथवा पहिलो पटक नयाँ विद्यालय भर्ना गर्न लागेको अवस्था नै किन नहोस्, अभिभावकले बच्चाको राय लिनैपर्छ ।

हामी के ठान्छौं भने, बच्चाहरु केही जान्दैनन् । उनीहरु राम्रो/नराम्रो छुट्याउन सक्ने भइसकेका छैनन् ।

जहाँ बच्चाले ८ घण्टा बिताउँछन्

जहाँ बच्चाले दैनिक ८ घण्टा बिताउँछ, जहाँ बच्चाले आफ्नो दैनिकीको लामो हिस्सा गुजार्छ, त्यो ठाउँ कस्तो हुनुपर्छ भनेर हामी अभिभावकले मात्र छनौट गनर्ेे होइन । बच्चाले पनि त्यसमा आफ्नो इच्छा, चाहाना, अपेक्षा राख्न पाउनुपर्छ ।

बच्चालाई सोध्नैपर्छ, ‘तिमीलाई कस्तो स्कुल मनपर्छ ?’

बच्चाले आफ्नै ढंगमा यसको जवाफ दिन सक्छन् । भलै उनीहरुको अपेक्षा अनुरुप विद्यालय खोज्न/भेट्न नसकिएला । तर, आफ्नो बच्चा कस्तो ठाउँमा रमाउँछ, बच्चाले विद्यालयमा कस्तो वातावरण खोजिरहेको छ भन्ने कुरा बुझ्न सकिन्छ । अतः विद्यालय व्यवस्थापकसँग आफ्नो कुरा राख्न सकिन्छ । बच्चाको अनुकुलता अनुरुप कक्षा कोठाको बनौट, शिक्षक/शिक्षिकाको व्यवहार, पठन विधी, खेल सामाग्री छ छैन भन्ने बुझ्न सकिन्छ ।

कस्तो विद्यालय खोज्छन् बच्चाहरु ?

बच्चाहरु त्यही रमाउँछन्, जहाँ उनीहरुले खोजेजस्तै अनुकुलता पाउँछन् । बच्चाहरुमा कुनै ठूलो अपेक्षा हुँदैन, आकंक्षा हुँदैन, बनावटीपन हुँदैन, कुनियत हुँदैन । त्यसले बच्चाहरुले जे चाहन्छन्, त्यो प्राकृतिक र स्वभाविक हुन्छ ।

अक्सर उनीहरु हरेक ठाउँमा आफ्नो खुसी खोज्छन् । आफ्नो स्वतन्त्रता खोज्छन् । आफ्नो मनोरञ्जन खोज्छन् । विद्यालयले बच्चाको यस्तो कुरामा बन्देज लगाउने होइन, बरु अनुकुलता मिलाउने हो ।

बच्चाले आफ्नो डर/भय त्यागेर प्रफुल्ल ढंगले पढ्न पाओस् । विद्यालयको गेटबाट प्रवेश गरिरहँदा बच्चाको मनमा खिन्नता होइन, उत्साह जागोस् । डर होइन, उमंग पैदा होस् ।

यसका लागि विद्यालयको वातावरण परिवारमैत्री हुनुपर्छ । बच्चाहरुले विद्यालयमा आफ्नै घरमा जस्तै खुला एवं स्वतन्त्र ढंगले पठनपाठन गर्न पाओस् ।

विद्यालयको भौतिक संरचना बालमैत्री हुनुपर्छ । बिद्यालय आफैमा बगैंचा जस्तो हुनुपर्छ, जहाँ बच्चाहरु खेल्न, उपि|mन, रमाउन र आफ्नो जिज्ञासा मेट्न सक्छन् ।  शिक्षक/शिक्षिकाको व्यवहार पनि बालमैत्री हुनुपर्छ । अक्सर विद्यालय भन्नसाथ बच्चाहरु शिक्षक/शिक्षिकासँग डराउने हुन्छन् । शिक्षक/शिक्षिका पनि डर देखाउन खोज्छन् । कुनै चटकेले डर देखाएर बाँदरलाई नाच्नमा अभ्यस्त गराए जस्तै बालबच्चालाई डर लादेर पुस्तक घोक्न लगाउनुको कुनै सार्थकता छैन । बरु, त्यसले बच्चालाई डिप्रेसनमा लान सक्छ ।

त्यसैले शिक्षक/शिक्षिका पनि बालबच्चाका लागि साथी जस्तै बन्नुपर्छ । जब शिक्षक/शिक्षिका साथी जस्तै हुन्छन्, बच्चाहरु खुलेर आफ्नो कुरा राख्न सक्छन् । कुनैपनि जिज्ञासा पोख्न सक्छन् । अहिलेका शिक्षकले विद्यार्थीलाई घोकाउने होइन, जिज्ञासु बनाउने हो । जब कोही जिज्ञासु हुन्छन्, उनीहरुले जे-जसरी पनि आफ्नो जिज्ञासा मेट्न खोज्छन् । वास्तवमा जिज्ञासा नै ज्ञानको स्रोत हो ।

अनुशासनको डर नदेखाऔं

हामीकहाँ विद्यालय भन्नसाथ अनुशासन जोडिएर आउँछ । निश्चय पनि अनुशासित जीवनशैलीमा अभ्यस्त गराउनु पर्छ/हुनुपर्छ । तर, विद्यालयले अनुशासनको नाममा अनावश्यक नियन्त्रण गरिरहेको हुन्छ ।

विद्यालयले कक्षा सुरु हुने पहिलो दिन नै विद्यार्थीलाई सर्तक गराउँछन् । विद्यालय प्राङ्गणमा यसो गर्न पाइनेछैन, यस्तो बोल्न हुनेछैन । यस्तो कडिकडाउ गर्दा बच्चाहरु अनुशासित होइन, नियन्त्रित हुन्छन् । लगाम लगाएको घोडा जस्तै ।

अनुशासन त त्यो हो, जो ऊ एक्लै भएको अवस्थामा पनि पालना गरोस् । किनभने अनुशासन भनेको जीवनलाई सही ढंगले डोहोर्‍याउने कडी हो । अनुशासन अरुको लागि होइन, आफ्नै लागि पालना गर्नुपर्छ । र, यस किसिमले अनुशासित बनाउनका लागि बच्चालाई प्रेरित गर्ने हो । लट्ठीको डरले होइन, प्रेममय भाषाले उनीहरुलाई अनुशासित जीवनशैलीमा डोहोर्‍याउने हो ।