झापा । नेपाल खाद्य संस्थानले मेचीका पहाडी जिल्लामा चामलको कोटा बर्से्नि घटाउँदै लगेको छ । ढुवानी गरिएको चामल बिक्री हुन छोडेपछि संस्थाले बर्से्नि कोटा घटाउँदै लगेको हो । संस्थानले मध्यम ग्रेडको सोना मनसुली चामल बिक्री गर्ने गर्छ । संस्थानको विर्तामोडस्थित अञ्चल कार्यालयले इलाम, पाँचथर र ताप्लेजुङमा कोटा निर्धारण गरी बर्से्नि चामल ढुवानी गर्दै आएको छ । ढुवानी गरी पठाइएको चामल बिक्री हुन छोडेपछि बर्से्नि कोटा घटाउँदै लगिएको संस्थानको मेची अञ्चल कार्यालयका प्रमुख मार्कण्डेयप्रसाद जायसवालले बताए ।
‘यातायातका साधनको पहुँच बढ्दै गएपछि पहाडी देहातका गाउँमा संस्थानको चामलको माग घटेको हो’, उनले भने, ‘अहिले संस्थानको चामल सदरमुकामसम्म मात्रै ढुवानी हुने गर्छ ।’ सशस्त्र द्धन्द्धका बेला संस्थान मातहतका डिपोमा आगजनी र विष्फोट भएपछि चामलको ढुवानी बन्द भएको थियो । इलाम, पाँचथर र ताप्लेजुङमा रहेका १४ वटा डिपो क्रमश बन्द हुँदै गएपछि संस्थाले चामलको ढुवानीलाई सदरमुकाम केन्द्रीत गर्दै लगेको थियो । अहिले झापासहित चारवटा जिल्लामा संस्थानको चामल कारागारका कैदीबन्दीका लागि मात्रै खपत हुँदै आएको छ । संस्थानका अञ्चल प्रमुख जायसवालले मेचीका चारवटा जिल्लाका कारागारमा मासिक चारसय क्वीन्टलको हारहारीमा चामल खपत हुने गरेको बताए ।
झापा बाहेक तीनवटै जिल्लामा शाखा कार्यालय स्थापना गरेको संस्थानको अहिले ताप्लेजुङमा मात्रै शाखा कार्यालय बाँकी छ । त्यहाँ दुई जना कर्मचारी कार्यरत छन् । त्यहाँ विर्तामोड कार्यालयबाट पठाइएको चामल मुस्किलले मात्रै बिक्री हुँदै आएको छ । चार वर्षअघि दुई हजार आठसय क्वीन्टल चामल ताप्लेजुङमा खपत भएको थियो । माग घटेपछि चालु आर्थिक वर्षमा आठ सय क्वीन्टल चामल पठाइएको छ । तर आर्थिक वर्ष सकिन तीन महिना बाँकी रहँदा ताप्लेजुङमा चारसय क्वीन्टल चामल पनि खपत भइनसकेको संस्थानका अञ्चल प्रमुख जायसवालले जानकारी दिए । ‘चालु आर्थिक वर्षमा चार सय क्वीन्टल चामल ताप्लेजुङका लागि ढुवानी भएको छ’, उनले भने, ‘यसवर्ष आठ सय क्वीन्टलको कोटा हो । तर थप चामलको माग आएको छैन ।’
खाद्य संस्थानले बर्से्नि चामल खरिदका लागि टेण्डर आह्वान गर्छ । यस वर्ष पनि टेण्डर आह्वान भएको छ । विर्तामोडस्थित अञ्चल कार्यालयका लागि सोना मनसुली जातको पाँचहजार क्वीन्टल चामल खरिद गर्ने गरी संस्थानको केन्द्रीय कार्यालयले टेण्डर आह्वान गरेको जायसवालले जानकारी दिए ।
खाद्य संस्थाले उपलब्ध गराउने चामलको गुणस्तर खासै राम्रो नहुने गरेको उपभोक्ता बताउँछन् । यद्यपि दुर्गम गाउँका उपभोक्ताका लागि कुनै बेला संस्थानको चामल हारालुछ हुने गरेको थियो । गाउँ गाउँसम्म यातायातका साध सञ्चालन हुन थालेपछि व्यवसायीले आफैँ चामल ढुवानी गर्न थाले । ‘संस्थानको चामल भन्दा राम्रो गुणस्तरको चामल गाउँमा पुग्यो’, संस्थानका अञ्चल प्रमुख मार्कण्डेयप्रसाद जायसवालले भने, ‘गाउँका उपभोक्ताले पछिल्लो समय सोना मनसुली चामल मन पराउनै छोडे ।’
व्यवसायीले अनेकजातका चामल गाउँसम्म पुर्याइरहँदा संस्थानले भने एउटै जात र गुणस्तरको चामल मात्रै ढुवानी गरिरह्यो । अझ उपभोक्ताको आयस्तर बढ्दै जाँदा उनीहरुले सोना मनसुली चामलको विकल्प रोजे । अलैँची, अम्लिसो, अदुवा, आलु, चिया लगायतका नगदेबाली विस्तार हुँदै गएपछि उपभोक्ताको आम्दानी पनि बढ्दै गयो । ‘संस्थानको चामलमा आकर्षक प्याकेजिङ पनि हुन सकेन’, संस्थान प्रमुख जायसवालले भने, ‘अर्काे कुरा उपभोक्ताको माग र चाहना अनुसार हामीले उधारोमा चामल दिन पनि सकेनौँ ।’