काठमाडौं । डिआइजी रमेश खरेलले बुझाएको राजीनामा पत्र गृह मन्त्रालय पुगेको छ । सरकारले मंगलबार राति डिआइजी सर्वेन्द्र खनाललाई प्रहरी प्रमुखमा नियुक्ति गरे लगतै डिआइजी रमेश खरेलले बुधवार मध्याह्न प्रहरी प्रधान कार्यालय नक्सालमा राजीनामा पत्र बुझाएका थिए ।

पत्र आएको केही घन्टा नबित्दै पत्र गृहमन्त्रालय पठाएको प्रहरी स्रोतले जानकारी दिएको छ । गृह मन्त्रालयले स्वीकृति दिएपछि मात्र डिआइजी खरेलको राजीनामा स्वीकृत हुन्छ । डिएसपीभन्दा माथिको राजिनामा गृह मन्त्रालयले मात्र स्वीकृत गर्ने प्रावधान रहेको छ ।

आफूले लामो समयदेखि संगठनको लागि काम गरेको तर सरकारको निर्णयमा सन्तुष्ट नभएकाले राजिनामा दिएको खरेलले बताएका छन् ।

खरेल २०४५ सालमा भलिबल खेलाडीको रुपमा नेपाल प्रहरीमा भर्ना भएका थिए । खरेल नवनियुक्त आइजी सर्वेन्द्र खनाल र डिआइजी पुष्कर कार्कीसँगै २०४६ साल माघ २९ गते प्रहरी निरीक्षकको परीक्षा पास गरेका थिए ।

३० वर्षीय सेवा अवधिका कारण उनले १० महिनापछि अवकाश पाउँदै थिए ।