भद्रपुर । स्थानीय तहले सेवासुविधामा रोक लगाए मात्र सामुदायिक विद्यालयमा भर्ना अभियान सफल हुने एक कार्यक्रममा वक्ताहरुले औलाएका छन् ।

‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा, भन्ने नाराका साथ जिल्ला शिक्षा कार्यालय झापाले आयोजना गरेको विद्यार्थी भर्ना कार्यक्रम शैक्षिक सत्र २०७५ को छलफल तथा अन्तरक्रिया कार्यक्रममा सहभागि वक्ताहरुले यस्तो गुनासा अघि सारेका थिए । विद्यालयमा आफ्नो बालबालिका नपठाउने अभिभावकहरुको विवरण संकलन गरेर स्थानीय तहबाट प्रदान गरिने सेवा सुविधामा रोक लगाए मात्र विद्यालय भर्ना अभियान सफल हुने उनिहरुको बुझाइ थियो ।

नेपाल शिक्षक महासंघ झापाका अध्यक्ष बुद्धमान कार्कीले गरिबी, विपन्न तथा निम्न वर्गका सामुदायिकमा रहेका बालबालिकालाई सामुदायिक विद्यालय सम्म पुर्याउन सरकारले आर्थिक सम्बन्धी ठोस योजना अघि नसारे सम्म विद्यार्थी अभियान सफल नहुनेमा जोड दिए । नेपाल शिक्षक संगठन झापाका अध्यक्ष कृष्ण अधिकारीले स्थानीय तहले सेवा दिन अघि सम्बन्धित अभिभावकको बालबालिका कुन विद्यालय पठनपाठन गर्छ, त्यसको आधिकारीक विवरण पेश गरेर मात्र सेवा सुविधा दिन थालेपछि मात्र झापासहित देशभर भर्ना अभियान सफल हुने बताए । सामुदायिक विद्यालय व्यवस्थापनको पदाधिकारी बस्ने अनि आफ्नो बालबालिका निजि विद्यालयमा पढाउने परिपाटीको अन्त्य नभए सम्म भर्ना अभियान सफल नहुने शिक्षक जिवन भट्टराईले बताए । शैक्षिकसत्र शुरु हुने बेलामा सरकारले शिक्षकको सरुवा, नियुक्ती , काजमा रोक लगाउँदा भर्ना अभियानमा असर पर्ने शिक्षक रमाकान्त चौधरीले गुनासो पोखे ।

जिल्ला शिक्षा समन्वय समिति अध्यक्ष सोमनाथ पोर्तेलको अध्यक्षतामा भएको कार्यक्रममा झापा जिल्लामा ३ दशमलव ७ प्रतिशत बालबालिका विद्यालयको पहुँच भन्दा बाहिर रहेको शिक्षा कार्यालय झापाका उपसचिव रामप्रसाद ढुंगेलले जानकारी दिए ।

जिल्लामा ९६दशमलव ३ प्रतिशत विद्यालय आइसकेका छन् । बाँकी ३दशमलव ७ प्रतिशत बाहिर रहेकोले चुनौती बन्दै गएको उनले बताए । ५–१२ उमेर समूहका बालबालिकाको नयाँ भर्ना अभियान झापामा बैशाख १ गतेदेखि १४ गते सम्म सञ्चालन हुन लागेको झापाका शिक्षा अधिकारी योगेन्द्रप्रसाद बरालले जानकारी दिए । पहिलो र दोस्रो हप्ता नियमित आउने बालबालिकालाई अबिर मालासहित स्वागत गर्ने र दोस्रो र तेस्रो हप्ता लक्षित समुदायका बालबालिकालाई सामेल गराउन जिल्लाका सबै विद्यालयलाई उनले आग्रह गरेका छन् । उनका अनुसार हरेक वार्षिक परीक्षामा सम्म विद्यार्थी टिकाउन विद्यालयले अब महत्वपूर्ण भुमिका निर्वाह गर्ने समय आएको छ । शिक्षाको तथ्याक अनुसार पकेट एरिया पहिचान गरेर अघि बढनु पर्ने उनले बताए । कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, अर्जुनधारा नगर प्रमुख हरिकुमार राना मगर, शिक्षा कार्यालयका उपसचिव होमनाथ भण्डारी लगायतले बोलेका थिए ।