बिर्तामोड/ सधै झै २०७४ साउन २३ गते रातीको झापाको गौरीगञ्ज गाँउपालिका २ का साइली बेस्रा मस्त निन्द्रामा थिइन् . राती १ बजेतिर उनलाई पिसाबले च्याप्यो । उनी ट्वाइलेट जान भन्दै उठिन । जब खाट बाहिर खुट्टा राखिन् तब उनले घरभरी पानी भरिएको थाहा पाइन् । उनले अतालिदै आफना श्रीमानलाई उठाइन् र उनीहरुले भागेर नजिकैको बहुभाषिक बिद्यालयमा पुगेर ज्यान जोगाए ।

त्यतीबेला नेपाल भारत सिमानाको दशगजामा बस्थे बेस्रा परिवार । उनीहरु सहित १८ सन्थाल परिवारको घर त्यो बेला दशगजामा थियो । उनीहरुको घर अलि होचो स्थानमा पथ्र्याे । अलि बढी बर्षा ह्ुने बित्तिकै त्यो स्थान डुवानमा पर्छ ।

पानी परेर गाँउ नै डुवानमा पर्न थालेपछि गाँउका लाठेले केराको थामको अस्थायी डुङगा बनाए । असक्त, बालबालिका र अत्यावश्यक सामान डुङगामा हालेर सुरक्षित स्थानमा लान थाले । १ सय १४ जना बसोबास गर्ने त्यो स्थानमा बाढीका कारण कुनै मानवीय क्षति भने हुन पाएन । लाठेहरुको सक्रियताका कारण सबैले भागेर ज्यान जोगाउन सके । तर, उनीहरुका बाख्रा, कुखुरा, हाँस, गाइबस्तु लगायतका घरभित्रको सामग्री बाढीले बगायो ।

प्राकृतिक प्रकोपको उच्च जोखिम रहेको त्यो स्थानमा त्यो भन्दा अघि नै ‘न्याय तथा विकासका लागि सामाजिक सञ्जाल’ नामको संस्थाले आपतकालिन कोष निर्माण गर्न आर्थिक सहायता गरेको थियो । पीडितकै शब्दमा जिल्लासँग सम्पर्क बिच्छेद भएको त्यो समयमा उनीहरुले त्यही कोषको रकमले चिउरा, भुजिया, चाउचाउ लगायतका खाद्यान्न किनेर प्राण बचाए । त्यसपछि रेडक्रस, जिल्ला दैवि प्रकोप उद्दार समिति लगायतले उनीहरुलाई खाद्यन्न, लताकपडा प्रदान ग¥यो । त्यसपछि तत्कालका लागि उनीहरुको संकट टरेको भएपनि भविष्यमा कहाँ बस्ने भन्ने चुनौती थपियो ।

लुथरन बिश्व फेडेरेसनको सहयोगमा न्याय तथा विकासका लागि सामाजिक सञ्जाल नामको संस्थाले एकिकृत सामुदायिक उत्थानशिल विकास परियोजना अन्तर्गत बिस्थापित सञ्थाल परिवारको स्थायी बसोबासको प्रबन्ध गर्न थाल्यो । त्यस कार्यमा बिस्थापितको संलग्नता भएन भने निर्माण भएका संरचनाको संरक्षण नहुने निष्कर्ष निकाल्दै संस्थाले उनीहरुकै साझेदारीमा घर निर्माण गर्ने योजना बनाएको कार्यक्रम संयोजक कुमार चुडालले बताए ।

बिस्थापितलाई सर्बप्रथम उनीहरुले गौरिगञ्ज २ पिण्डाघुटु भन्ने अलि अग्लो स्थानमा जमिन खरिद गर्न लगाए । ७७ हजार रुपैंया प्रतिकठ्ठाका दरले उनीहरुले १० कठ्ठा १० धुर जमिन किने । त्यही जमिनमा घर निर्माण गरिदिने योजना संस्थाले बनायो । संस्थाले घर निर्माणका लागि पिल्लर उठाउने र जस्तापाता प्रदान गर्ने काम गर्यो । त्यसलाई उनीहरुले पुर्ण बनाउदै चिटिक्क परेको घर ठड्याए । अहिले त्यहाँ १८ घरको चिटिक्क परेको बस्ती तयार भएको छ ।

बस्ती बनाउन संस्थाले ५ लाख ९४ हजार रुपैयाँ प्रदान गरेको थियो । सञ्थाल परिवारले जमिन बाहेक ७ लाख ३७ हजार बराबरको श्रमदान तथा सामग्री बस्ती निर्माणमा प्रयोग गरे । केहीले त्यो रकम अझै ऋणमा रहेको बताएका छन् भने केहीे ऋण तिरिसकेका छन । संस्थाले नै सबै घरमा शौचालय निर्माण र खानेपानीका लागि ट्युववेल वितरण गरिदियो । जिल्ला कृषि बिकास कार्यालयले एकएक थान खाद्यान्न राख्ने टिनको सिडविन प्रदान गर्यो ।

संस्थाकै पहलमा त्यो स्थानमा बचत समुह पनि गठन भएको छ । त्यसका लागि केही आर्थिक सहयोग गरेको अध्यक्ष सोमनाथ भट्टराइले बताए । बचत समुहका अध्यक्ष हुन बेस्रा । बिगत दुइबर्षदेखि उनीहरुले नियमित बचत गर्न थालेको बताएका छन् । त्यसबाट ऋण लिएर कसै कसैले तरकारी, मकै, धान, खेती पनि गर्न थालेका छन् । जसले उनीहरुको जिवनस्तर उकास्न थालेको संस्थाको बिश्वास रहेको छ ।

बाढीबाट बिस्थापित भएका उनीहरुले अर्काे ठाँउमा पुनस्थापित गर्न खोज्दा नमानेको गौरिगञ्ज गाँउपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले बताए । उनले बिस्थापितका लागि दिगो आयआर्जनको श्रोत निर्माण गर्न गाँउपालिका प्रतिबद्ध रहेको बताए । गाँउपालिकाले यो बर्ष कृषिमा ५० लाख रुपैयाँ मात्र बिनियोजन गरेको बताउँदै उनले त्यही रकमले त्यसक्षेत्रका स्थानीयको माग सम्बोधन गर्न सकिने धारणा राखे । आफ्नो जमिन नभएका त्यहाँका सञ्थाल परिवारका केही कसैको जमिन अधियाँ कमाउछन भने केही ज्याला मजदुरी गर्छन् । मजुदरी गरेवापतको पारिश्रमिक पनि अरु ठाँउको भन्दा सस्तो छ । अन्य ठाँउमा एकछाक खाना खाएर दिनभरी कृषिमा श्रम गर्ने किसानले ५ सय रुपैयाँ ज्याला पाउँछन भने त्यो स्थानमा ३ सय मात्र छ । काम भएको समयमा पाउने त्यही दिनको ३ सय रुपैयाँ ज्यालाले उनीहरुले गुजारा गरिरहेका छन् ।

झापको सबैभन्दा बिकट जस्तो लाग्ने त्यसस्थानमा रहेको सञ्थाल अदिवासीमा अन्य स्थानको भन्दा चेतना उच्च छ । नपढेकाहरु ‘मैले पढ्न नपाएर दुख पाँए, नानीहरुलाई सकेसम्म पढाउँछु’ भन्छन भने अलिअलि साक्षरहरु अझ चेतनाका कुरा गर्छन । त्यस स्थानका सबै बालबालिकाहरु बिद्यालय जान थालेका छन् । बालबालिकाहरु पनि जो कोहीसँग खुलेर कुरा गर्ने सामथ्र्य राख्छन् ।

बिस्थापित आदिवासीले कृषि पेशा गर्नका लागि गाँउपालिकासँग जमिन मागेका छन् । अध्यक्ष श्रेष्ठले भाडामा जमिन लिएर भएपनि उनीहरुलाई तरकारी खेती गर्न लगाइने बताए । उनले दुइबर्षभित्र गाँउपालिकाको सबै स्थानमा जाने सडक निर्माण गरिसक्ने भन्दै बिधुतिकरण र बैकल्पिक उर्जाको ब्यवस्थापनमा गाँउपालिका अघि बढेको बताए ।

आर्थिक रुपमा बिपन्न समुदायका नागरिकलाई खुशी बनाउन धेरै ठुलो लगानी गर्नु पर्दैन भन्ने उदाहरण यो पनि हो । संस्थाले झण्डै २० लाखको लगानीमा त्सस स्थान सहित अन्य ठाँउका ५० परिवारलाई घर निर्माण गरिदिएको अध्यक्ष भट्टराइले जानकारी दिएका छन् ।