विजयपुर/ इलाम र धरान बीच शनिबारबाट भगिनी सम्बन्ध सुरु भएको छ । इलाम स्थापना भएको दुई सय वर्ष पूरा भएको अवसरमा शनिबार इलाममा आयोजित वृहत कार्यक्रममा धरान उप–महानगरपालिकाका प्रमुख तारा सुब्बा र इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले समझदारी पत्रमा संयुक्त रुपमा हस्ताक्षर गरे । समझदारी पत्रमा हस्ताक्षरपछि बोल्दै धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाले भगिनी सम्बन्धले दुई नगरले विकास र संबृद्धिका अनुभवलाई आदानप्रदान गर्ने बताए । उनले इलामले कृषि उत्पादनमा मनग्गे प्रगति गरेको र उत्पादनलाई धरानको कृषि उपज बजारमार्फत अन्तर्राष्ट्रियकरण गरिने बताए ।
मेयर सुब्बाले इलाम र धरानको दूरीलाई कम गर्न धनकुटाको राजारानीदेखि इलामको मंगलबार हुँदै छोटो दूरीको सडक निर्माण र स्तरोन्नति गर्न प्रदेश सरकारको ध्यानाकर्षण समेत गराएका थिए । यस अघि पनि धरान उपमहानगरपालिकाले देश र विदेशका विभिन्न शहरसँग भगिनी सम्बन्ध स्थापना गरेको स्मरण गर्दै दुई शहरले एकअर्काको विकास र समृद्धिको योजनामा सघाउ पु¥याउनु पर्ने औँल्याए । इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले इलामको तिब्र विकास र संबृद्धीमा धरानको अनुभब र योजना फलदायी हुने बताए ।
धरान र इलामको दूरी कम गर्ने प्रदेश १ को योजना
प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रि हिक्मत कार्कीले इलाम र धरानको दूरी कम गर्न प्रदेश सरकारसँग योजना रहेको बताएका छन् ।
इलाम २ सय वर्ष पुगेको अवसरमा इलाममा आयोजित ३ दिने महोत्सवको उद्घाटनलाई सम्बोधन गर्दै मन्त्रि कार्कीले प्रदेश सरकारको पहिलो बजेटले पनि यस कुरालाई संकेत गरेको जनाए । इलाम र धरानबीच भगिनी सम्बन्ध स्थापना भएको र प्रदेश सरकारले यो सम्बन्धलाई विकास गर्न जोड दिनु पर्ने धरान उप–महानगरपालिकाका प्रमुख तारा सुब्बाको भनाइलाई सम्बोधन गर्दै मन्त्रि कार्कीले प्रदेश सरकारसँग धरान र इलामलाई जोड्ने स्पष्ट योजना रहेको बताए ।