झापा/  झापाको कनकाई नगरपालिलाई पर्यटकीयस्थल बनाउने उदेश्यले नयाँ वर्ष २०७५ को अवसर पारेर वडा नम्वर ८ र ९ को सिमानामा पिकनिक स्पट स्थापना गरिएको छ । विरिङ पुलदेखि दक्षिणमा रहेको लगभग ३० विगाहा जमिनमा ‘रमणिय पिकनिक स्पट’को निर्माण गरिएको हो ।

केही बर्ष अघि त्यस स्थानमा खोला नियन्त्रण गर्नका लागि स्थानीयले बृक्षरोपण गरेका थिए । वाह्य तथा आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य साथै पर्यटकीय प्रवद्र्धन गर्ने उदेश्यले पिकनिक स्पट स्थापन गरिएको स्थानीयको भनाई छ । विकासका हिसावले पछि परेको सो स्थानमा स्थानीयको सहयोगमा पर्यटकीयस्थल निर्माण गर्न लागिएको कनकाई नगरपालिका वडा नम्वर ८ का अध्यक्ष प्रेमबहादुर कटुवालले जानकारी गराए ।

सोहि स्थानमा पिकनिक स्पट समितिले शनिवार पिकनिकको आयोजना गरी रमणिय पिकनिक स्पटको उद्घाटन गरेको छ । कार्यक्रमका विच कनपा ८ का अध्यक्ष कटुवालले ऐलानी तथा नदीकटान रहेको २५देखि ३० विगाहा जग्गाको डिपिआर भइसकेको बताए ।

‘काठमाडौंको कन्सल्टेन्सीले डिपिआर गरिसकेको छ’, अध्यक्ष कटुवालले भने ‘ अन्दाजी कम्तिमा ५० लाख लगानी गछौं ।’ आगामी बर्ष कालोपत्रे सडकका लागि पहल गरिने उनले बताए । अध्यक्ष कटुवालले असार महिनाभित्रमा विरिङ पुल दक्षिणदेखि घैलाडुव्वा पशुबजारसम्म एकलाख बृक्षरोपण गर्ने योजना रहेको बताए । ‘यस स्थानमा सामुदायिक वन र पर्यटकीय स्थल निर्माण गर्ने छौं ।’ अध्यक्ष कटुवालले भने ।

नगरपालिकाका मेयर रोजेन्द्रप्रसाद पोखरेलले कनकाई नगरीलाई पर्यटकीय स्थल बनाउन डिपिआरसहितको मास्टर पलान बनाइरहेको बताए । उनले खोला नजिक भएको र सिमसारका लागि पनि उपयुक्त स्थान भएकाले सिमसार बनाउन सकिने बताए । ‘ठाउँले के माग्छ, त्यस अनुरुप काम गर्नेछौं, मेयर पोखरेलले भने ‘यस स्थानलाई करिडोर क्षेत्रका रुपमा पनि हेरेका छौं ।’ राजमार्गदेखि नजिकै रहेकाले पर्यटकीय स्थल उपयुक्त हुने उनले बताए ।

पिकनिक स्पर्टका अध्यक्ष गोपालप्रसाद चुडालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख पोखरेल नै रहेका थिए । उद्घाटन कार्यक्रममा हिमाली आधारभूत बिद्यालयका प्रधानध्यापक केशव ओझा, शिक्षक लेखनाथ गुरागाई, वडा नम्बर २ का अध्यक्ष पर्शुराम गिरी, वडा नं. ९ का अध्यक्ष प्रेमप्रसाद राजवंशी, अनिता राई, कनकाई उद्योग बाणिज्य संघका उपाध्यक्ष मिनाल तिम्सिना लगायतले शुभकामना मन्तब्य राखेका थिए । वडा नम्बर ८ का अध्यक्ष कटुवालले स्वागत गरेको कार्यक्रमको सञ्चालन सदस्य सुनिता सिग्देलले गरेकी थिइन् ।