पानवारी/ सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा विपद् व्यवस्थापन कार्यशाला सम्पन्न भएको छ ।
जिल्ला दैविक प्रकोप उद्धार समितिको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी सुनसरीको व्यवस्थापनमा भएको विपद् प्रतिकार्य योजना अध्यावधिक कार्यशाला गोष्ठि सोमबार सम्पन्न भएको हो ।
कार्यशाला गोष्ठिमा सुनसरी जिल्लाका सबै १२ वटा स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत तथा कार्यकारी अधिकृतको उपस्थिति रहेको थियो । कार्यशालामा बिभिन्न बिषयमा नगर प्रमुखहरुले आफ्ना धारणाहरु राख्नु भएको थियो । कार्यशाला गोष्ठिमा आगामी योजना बनाउने, स्थानीय तह र जिल्ला स्तरिय कार्यालयहरुले संचालन गर्ने भुमिकालाई बिपद् प्रतिकार्य योजनामा बारेमा छलफल भएको थियो ।
त्यसैगरी क्षेत्रगतरुपमा एक दिने गोष्ठि संचालन गरी त्यस गोष्ठिबाट आएका सूचनाहरुका आधारमा जिल्लाको विपद् प्रतिकार्य योजनालाई अध्यावधिक गर्ने सहमति समेत गोष्ठिमा भएको थियो ।
कार्यशालाले जिल्लाका ४ स्थानमा पुनः छलफल गरेर प्रतिकार्य योजनाको अन्तिम खाकां तयार गर्ने निर्णय समेत गरेको छ । जस अन्तर्गत इनरुवा, भोक्राहा, रामधुनीको इनरुवा नगरपालीकाको सभाहलमा २०७५ बैशाख ९ गते, वर्जु, दुहवी र देवानगन्जको दुहवी नगरपालीकामा २०७५ बैशाख १० गते, इटहरी धरान र बराहक्षेत्र नगरपालीका सरोकारवालाहरुको संयुक्त बैठक इटहरी नगरपालीकामा २०७५ बैशाख ११ गते, कोशी, देवानगञ्ज र हरीनगरा गाउँपालीकाको २०७५ बैशाख १२ गते उद्योग बाणिज्य संघ, इनरुवाको सभाहलमा छलफल गरी आगामी योजना बनाइने रेडक्रसका मन्त्री मुकुल कायस्थले जानकारी दिएका छन् ।
कार्यशालाको उद्घाटन सत्रमा नेपाल रेडक्रस सोसाइटी, सुनसरीका सभापति उमेश थापाले सम्पूर्ण सहभागिहरुलाई स्वागत गर्दै कार्यशालाको उद्देश्यका बारेमा प्रष्ट्याएका थिए । प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी निरोज भण्डारीले कार्यक्रम संचालन गरेका थिए ।