विराटनगर/ प्रदेश सरकारले शान्ती सुरक्षा र अमनचैन कायम गर्न नसकेको भन्दै प्रदेशसभामा सरकारको आलोचना भएको छ ।
प्रदेशसभा बैठकमा मंगलबार विशेष समयमा बोल्ने विपक्षी दलका सांसदहरुले अपराधिक गतिविधिमा बढोत्तरी भएको भन्दै सरकारको आलोचना गरेका हुन् ।
विषेश समय लिएर बोल्दै प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका सचेतक केदार कार्कीले विराटनगरमा धर्मगुरु श्रीनिवासाचार्यमाथिको गोली प्रहार र भारतीय दुतावासको क्याम्पमा भएको बम आक्रमणले शान्ति सुरक्षामा प्रश्न खडा भएको बताए ।
सांसद कार्कीले प्रदेशसभा रहेको स्थानबाट तत्काल जिल्ला समन्वय समितिलाई अन्यत्र सार्न माग गर्दै प्रदेशसभाको सुरक्षा संवेदनशिलतालाई ध्यन दिन आग्रह गरे । उनले कर्मचारीहरुले प्रदेश सरकारलाई असहयोग गरेको अनुभूति भएको भन्दै संघीयता असफल बनाउने प्रयासप्रति सचेत हुन आह्वानसमेत गरे ।
त्यस्तै संघीय समाजवादी फोरम नेपालका सांसद जयराम यादवले श्रीनिवासाचार्यमाथि भएको आक्रमणको दोषीलाई छिटोभन्दा छिटो पक्राउ गरी कार्वाही गर्न माग गरे । उनले भारतीय दुतावासको सम्पर्क कार्यालय लक्षित बम विष्फोट हुनु दुर्भाग्य भएको बताए ।
नेपाली काग्रेंसका सचेतक केदार कार्कीले प्रदेशभर अपराधको घटना अस्वभाविक रुपमा बढेको तर प्रदेश सरकारले दोषिलाई कारवाही गर्न गृह प्रशासनको परिचालन र समन्वय गर्न नसकेको आरोप लगाए । कार्कीले भने, ‘यो सरकार बनेदेखि नै अपराध बढिरहेको छ, दुई तीहाईको सरकार बनेपछि अपराध गर्नेहरु दुला पस्नु पर्नेमा खुलेआम हिडिरहेका छन् र सम्पती सुद्धिकरणको अभियोग लागेकाहरु चोखिएका मात्र छैनन् उनीहरुले उद्योगी व्यवसायिमाथि दवाव बढाएर फेरीपनि आतंक सुरु गरेका छन् तर सरकार बेखवर छ ।’
उनले बम बिष्फोटको घटनाहरु बढेको, धर्मगुरु आचार्य श्रीनिवास माथि गोली प्रहार भएको र भारतीय राजदुतावासको फिल्ड अफिसमा आक्रमण भएको घटनाको निन्दा गर्दै प्रदेश सरकारले आफ्नो औचित्य शिद्ध गर्न नसकेको आरोप लगाए । उनले प्रदेशसभा भवन पनि असुरक्षीत रहेको टिप्पणी गर्दै चारै कुनामा सरक्षा पोष्ट स्थापना गर्न र पहिले प्रदेशसभा सदस्यहरुलाई सुरक्षाको अनुभूति गराउन माग गरे ।
प्रदेशसभा सदस्य कुलप्रसाद साम्बाले मोरङको मिक्लाजुङ्ग नगरपालिकामा महिलाको बलात्कार गरी हत्या भएको र उर्लावारीमा सुन तस्करीको विषयलाई लिएर सनम शाक्यको हत्या भएको भएपनि मुख्य दोषिहरु कारवाहीको दायरमा आउन नसकेको विषयलाई सरकारले गम्भिररुपमा लिनु पर्ने माग गरे ।