विराटनगर/ प्रदेश १ को प्रदेश सभा बैठकको शून्य समयमा बोल्दै सुनसरीकी सांसद सावित्री जोशीले सुनसरीको धरानलाई प्रदेश १ को राजधानी बनाउनु पर्ने माग गरेकी छिन् ।

शुक्रबार बसेको प्रदेश सभा बैठकको शुन्य समयमा बोल्दै उनले हावापानी, भूगोल र भौतिक संरचनाको हिसावले धरान उपर्युक्त भएको दाबी पेश गरिन् ।

संसद बैठकमा बोल्दै सांसद विद्यानन्द चौधरीले विराटनगर–गौरिगंज सडकमा पर्ने रतुवामाईमा बनेको पुल निर्माण नसकिएको भन्दै सरकारको ध्यानाकर्षण गरे । उनले पिछडिएका दलितको नागरिकता पाउने अधिकारबाट बञ्चित भएको भन्दै सरकारले वैकल्पिक व्यवस्था गरेर नागरिकता दिनुपर्ने बताए ।

यस्तै मोरङका सांसद लिलाबल्लभ अधिकारीले बक्राहा, मरिया, डाँस, चिसाङ, लोहन्द्रा जस्ता खोलाका कारण जनता आक्रान्त भएको भन्दै तटबन्ध नियन्त्रणका लागि प्रदेशसरकारको ध्यानाकर्षण गराए ।

सुनसरीका सांसद मोहम्मत ताहिर अन्सारीले कोशी टप्पुका जनावर अर्ना, हात्ती र बँदेलको आक्रमणबाट जनता आजित भएको भन्दै उचित व्यवस्थापनको माग गरेका थिए ।